कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ मा एक सय ७८ हेक्टर, आव २०७७/७८ मा दुई सय चार हेक्टर, आव २०७८/७९ मा तीन सय हेक्टर, आव २०७९/८० मा तीन सय हेक्टर र आव २०८०/८१ मा दुई सय ७० हेक्टर क्षेत्रफलमा कागतीखेती भएको बताए। आव २०७९/८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ।
उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार चार सय आठ मेट्रिक टन कागती उत्पादन भएको छ। उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ७५ मेट्रिक टन रहेको छ। “जिल्लाको माग धान्ने गरी उत्पादन हुने गरेको छ,” उनले भने “किसानहरु बिक्रीमा समस्या आएको बताए। बजारीकरणका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।”
सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए। तत्कालीन कृषि विकास कार्यालयले तालिम, बिरुवा र मल दिने नीति ल्याएको थियो।
पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रमहरु ल्यायो। कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय किसान साना गाडी लिएर गाउँ गाउँमा कागतीका पोका बेच्दै हिँड्न बाध्य छन्।
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा छ करोड २७ लाख २० हजारको आठ सय ९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ।
“चियाका बोट मासेर कागतीको व्यावसायिक खेती थालेको थिएँ,” विर्तामोड–६ का कमलराज बिमलीले भने, “सुरु सुरुमा त राम्रो फल्यो र आम्दानी पनि राम्रै पाइयो तर पछिल्लो समय रोगले बोट मास्न थाल्यो।
भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले स्थानीय उत्पादनको बजार खर्लप्पै खान थालेको छ।” कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखापरेको उनले बताए। विगत एक वर्षमा कागतीका चार सय बोट सुकेर मरेको उनको भनाइ छ।
झापामा कम्तीमा तीन सय किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन्। केहि सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन्। झापा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ।
कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुसलगायत ठूला उद्योगहरु स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन्।
बुद्धशान्ति गाउँपालिका–२ का रामप्रसाद उप्रेतीले एक बिघा जमिनमा लगाएको कागतीले विगत चार वर्षदेखि उत्पादन दिइरहेको छ। वार्षिक पाँच लाखको कागती बेच्दा आधा रकम नाफा हुने उनले बताए।
“आम्दानी नै नहुने खेती त होइन,” उप्रेतीले भन्नुभयो, “धानखेतीको तुलनामा दश गुणा बढी आम्दानी हुँदोरहेछ तर अहिले बजार पाउन गाह्रो हुँदै गयो ।” उनले कागती बारीमा सुपारीखेती गरेर थप आम्दानी लिनुभएको छ।
दुईजनालाई बाह्रै महिना कामदारका रुपमा रोजगारी दिनुभएका उहाँले बोटबाटै प्रतिगोटा तीनमा व्यापारीले कागती किन्ने गरेको बताए। धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रुपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदै फाइदा हुने उनको अनुभव छ।
सिजन अनुसार मल, सिँचाइ, गोडमेल र फल टिप्दा स्थानीयले थप रोजगारी प्राप्त गरेका छन्। मेचिनग, बुद्धशान्ति, विर्तामोड, अर्जुनधारा र गौरादह कागतीखेतीका लागि उर्वर पालिका बनेका छन् । कचनकबल–२ का जगदीश राजवंशीले बजार र प्रकोपबाट पीडित भएर कागतीखेती मास्न बाध्य भएको बताए।
उनको खेतमा हजुरबुबाको पालादेखि कागतीखेती हुने गरे तापनि व्यावसायिकखेती भर्खर गरिएको थियो। “दुई वर्षअघि ठूलो हावाहुरी र असिनाले क्षति पु-याएपछि कागतीखेती मास्नु पर्यो,” उनले भने“किसानको क्षति हुँदा क्षतिपूर्ति दिने ठाउँ हुँदोरहेनछ। मैले कागतीबाट राम्रै आम्दानी पाएको थिएँ।”
जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच पाँच दशमलव पाँच देखि छ दशमलव पाँचसम्म भएको दोमट माटो कागतीखेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ।
पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतका रोगले आक्रमण गरेको किसान रामप्रसाद उप्रेतीको गुनासो छ।