सङ्खुवासभा/ जिल्ला अस्पतालमा सामाजिक सेवा एकाइबाट दुई हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन्।
जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार उपचारमा सामाजिक सेवा एकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट प्राप्तिको प्रावधान छ।
स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न वर्गका बिरामी एकाइको सहयोगबाट लाभान्वित भएका छन्। एकाइमार्फत एकमा दुई हजार छ सय ३० जनाले सेवा लिएका छन्।
सामाजिक सेवा एकाइमार्फत एक हजार सात सय ७२ जना ज्येष्ठ नागरिक, अति गरिब छ सय २२, लैङ्गिक हिंसापीडित ७८ र थुनुवा कैदी ४४, अपाङ्गता भएका ५१, असाहय २४ र अन्य ३१ जनासहित दुई हजार छ सय ३० जनाले उपचार सेवा लिएको सूचना अधिकारी खत्रीले बताए।
सामाजिक सेवा एकाइमार्फत प्रदान गरिएको उपचार सेवामा अस्पतालको रु २८ लाख १२ हजार नौ सय ३७ खर्च भएको अस्पतालले जनाएको छ। यो अस्पतालमा एक वर्षमा ६३ हजार छ सय जनाले सेवा लिएका छन्। स्वास्थ बीमा कार्यक्रमबाट गत आवमा १८ हजार ८६ जनाले सेवा लिएका थिए।