घरज्वाइँ आफैमा सीमान्तकृत शब्द हो, वैवाहिक शब्दावलीमा । अनुदार समाजमा यो हेयपूर्ण पराजित लाग्छ । तर लोकतान्त्रिक उदार समाजले स्वभाविक रुपमा लिएको देखिन्छ । समाज र परिवार जोगाउन सम्बन्ध स्थापना गर्न समाजलाई यहाँसम्म हिँडाएर ल्याउन बुहारी र घरज्वाइँले अहम् भूमिका खेलेका छन् ।
अनिल मगरको निर्देशनमा निर्मित नेपाली सांस्कृतिक सिनेमा घरज्वाइँ बिछट्ट नयाँ स्वाद दिने सिनेमा हो । पूर्वी रूकुमको लगुम तकसेरा ढोरपाटनको मगर सभ्यताको विहङ्गम झल्को दिने यो सिनेमाले नेपाली मौलिक स्वादको मनोरञ्जन सांस्कृतिक ज्ञान नेपाली सिने दर्शकलाई प्रदान गर्छ । लगातार जारी, मनसरा, गाउँ आएको बाटोले नेपाली सिनेमाजगत्मा हङ्गामा गरेपछि सँगै आएको पुजार सार्की, बोक्सीको घरबाहेक उभिन पनि सकेनन् । पूर्णरुपमा एकनासे स्लेट ढुङ्गे छानाको झुरूप्प पहाडी मगर बस्तीको अचम्मै देखिने अति सुन्दर फोटोग्राफी जो एउटा अचानक देखिने दृश्यले लोभ्याउने क्षण । साँघुरो कोठा पुगिने ढुङ्गाको उकालो खुड्किला । काठ, स्लेट र ढुङ्गाको त्रिसामग्री मिश्रित नेपाली वास्तुकलाको अद्भूत लोकेसनको मनोहर दृश्य । कोठाभरि आँटी नआँटी भित्तामा राखेको चोया, काठको ध्वाँसोले कालो भैगएको बढेमान प्राचीन भाँडा सामग्रीहरु । बाँसको कप्टेरोबीच सिउरेर राखेका हतियारहरु । भेडाको टाउको हाँगाको कापेमा कसेर जिउँदो भेडाको ऊन लाग्ने छुरिले रेटेको । छेउमै बसेर ऊन कातेको भेडाको बथान रातमा आराम गरिरहेको । ओढ्ने ओछ्याउने लाउने ऊनको राडी, लुकुनी, घेलेक घरमै पाहुना आउँदा पनि ऊन कात्ने तान हाल्ने धागो निकाल्ने काम गर्दै चोयाको छपनीमा जाँड छान्दै खाँदै बात मारेको रूकुम तक्सेराका मगरहरुले हजार वर्षदेखि बाँच्दै आएको जीवनको समाजशास्त्र हुनुपर्छ ।
आदिवासी मगर गाउँमा माओवादी जनसरकार स्थापना भएपछि मगरहरुको प्राकृतिक ऐन कानूनमा जनसरकारको हस्तक्षेप भएको सत्यलाई सिनेमाले देखाए पनि स्थानीय जातीय संस्कारको सम्मान गरेर न्याय सम्पादन गरिएको पक्षले जनताको सांस्कृतिक सत्तालाई स्वीकार्नु पर्ने तर्क सिनेमाले अघि सारेको छ । कुनै पनि जातिको कथा उसको सांस्कृतिक पक्षविना अधुरो हुन्छ भन्ने वैचारिकी समेत सिनेमाको छ । कौडा, घाटु, नाच, मेला रूकुमले खेल्ने महिला भलिबल यसका केही उदाहरण हुन सक्छन् ।
रोधी बस्नु, रोधीमा नाचगान गर्नु मगर सांस्कृतिक विशिष्टता हो तथापि रोधीको भव्यता सिनेमाले दिन नसक्नु यसको सीमा हुनसक्ला । तथापि रोधीमै मायाको अङ्कुरण हुन्छ । रोधीमा ऊन कातेको नौलो हो । जारीमा बुहारी जारी तिर्न आफै बन्धकी बस्नु नौलो विरोधाभाष पात्रीय प्रयोग छ । एकखेप पहिले मामाको छोरीको हक लाग्ने बिहे हुने कुराले यो देश निकै तातेको थियो । हो, त्यो सांस्कृतिक सम्बन्धको कथा यो सिनेमाले भन्छ ।
एउटै मात्र सन्तान छोरी बिन्जुरीको बिहे घरज्वाइँ बस्ने भए मात्रै दिने अडान र प्रतिरोधमा उठाएर भगाउने त्यसपछि विस्तारै मिल्छ भन्ने द्वन्द्व व्यवस्थापन बीचको लडाइँ कथामा छ । जिद्दी बाबुहरुले निर्माण गरेको समाजको वैवाहिक पद्धतिमा केटाले घरज्वाइँ बस्नुपर्ने देखिन्छ । बाबुहरुको पुरूष अहम्लाई झेल्न छोरो घरज्वाइँ बस्छ । अचानक घरज्वाइँ बस्नु अर्धमातृसत्ता पनि हो । प्रेम गर्ने यौन भोक मेट्ने तर सत्ता आफैमा बहन गर्ने मगर समाजको मातृसत्ताको प्रतीकसमेत हो यो । हजारौं नारीहरुले झेलेको बुहारी कथाको वैपरित्य कथा हो घरज्वाइँ । यो अनकन्टार गाउँमा छोरी बिहे गरेर हिँडिगएपछिको बाबुको एक्लो उराठलाग्दो जीवनलाई उर्वर र सहनशील बनाउन त्यस्तो पुरूषले वा समाजले निर्माण गरेको सहास्तित्वपूर्ण प्रथा हो घरज्वाइँ । अरुले सोचेको जस्तो घरज्वाइँ मगर समाजमा छैन । ससुराली माइती भयो । बुहारीलाई जसरी खस आर्य समाजमा सताइन्छ, ठीक त्यो पीडा मगरको घरज्वाइँले भोग्नुपर्ने देखिन्छ । अरुमा बुहारीले यौन सुख पाउँछ । मगरको घरज्वाइँलाई त्यो बन्देज छ ।
सिनेमामा परेवाको गुँडलाई घरबार गरिखाने नखाने बिम्बको रुपमा देखाइएको छ । जुन अति कलात्मक प्रतिकात्मक छ । दयाको कम बोल्ने अल्पभाषी चरित्र खुब सुहाएको छ ।
सहरबाट आएको नायकलाई आधुनिक पहिरन फुकालेर मगर पहिरनमा तुरून्तै देखाउन सक्नुपथ्र्र्यो । मगर गाउँ लाहुरे हुने विदेश भासिने प्रथाले गाउँ युवाविहीन भएको बेला आफ्नै गाउँमा फर्केर गरिखाने परम्परा धान्ने संस्कृति बन्ने वैचारिकी सिनेमाको पछिल्लो समयमा देशले मागेको विचार हो । यो चिन्तनमा बनेको सिनेमा त्यसै हृदयमा बस्छ नै । तथापि त्यो विचारको विरोधी फेरि पनि गाउँमै छ, त्यो प्रतिचिन्तनलाई चिरेर बाँच्न सक्नु आजको आवश्यकता हो सिनेमा त्यसो भन्छ । गाउँ छोडेर हिँड्ने युवालाई गाउँले सहजै स्वीकार्दैन । अनेक बहाना र लाञ्छना लगाएर कमजोर देखाउन खोज्छ ।
दर्शकको एकपक्षीय धारणा सिनेमाको परम्परागत अतिवाद रुढवाद हो, जसले सहिष्णु समाज निर्माण गर्दैन भन्ने छ । वास्तवमा यो खरो परम्परा यस्तो प्रथा हो जो मगरहरुको लाङ्घाली समाज निर्माणको समाजशास्त्र नै यसरी निर्माण भएर विकसित भएको हो, अब विनिर्माण गर्ने काम नयाँ पुस्ताको हो भन्छ ।
प्रायः कुनै न कुनै जातिमा यस्तो अरु पनि जटिल सांस्कृतिक परम्परा जीवित थियो, जसले त्यो जातिलाई यहाँसम्म डो¥याएर ल्याउन अहम् भूमिका खेल्यो र ती अप्रिय प्रथाहरु आफै क्रमशः लोप भएर गए । तथापि यो भव्य समाज बन्न तिनै प्रथाहरुको भव्य योगदान छ भन्छ सिनेमाले ।
गाउँ आएको बाटोमा सयौँ वर्ष पुरानो ग्रामीण सीप पुँजीवादले खाएपछि सीप र मान्छे कसरी निमेषमा पलायन भयो भन्छ भने घरज्वाइँले हजार वर्षदेखि सुदूर पहाडमा मगर समाज कसरी जीवित छ प्रष्ट्याउने कोशिस सिनेमाको छ । एउटै छोरी हुने बाबुले आफ्नो घर कसरी जोगाउँछ र एक्लो छोरीसँग प्रेममा पर्ने केटाले प्रेमको खातिर के गर्न सक्नु पर्छ जस्ता घटनाको रहस्य सिनेमाले खोल्छ । आफ्नो छोरीको बिहे नस्वीकार्ने प्रेमीलाई भने घरज्वाइँ स्वीकार्ने तर छोरीसँगको सम्बन्ध नस्वीकार्ने बाबुको भयभित मनोविज्ञानलाई सिनेमाले राम्ररी व्याख्या गरेको छ । पत्नीको मृत्युले एक्लो बाबुको मनोदशा झन् एक्लो हुने भयले ग्रस्त छ ।
बाँकी छोरी पनि केटाले लग्यो भने एक्लो जिन्दगी कसरी बिताउने त्रसित छ । घरज्वाइँले छोरीमाथि हैकम गरेर बच्चा जन्माएर सम्पत्ति खान्छ, दुःख दिन्छ भन्ने त्रास छ । यो मनोविज्ञानले गर्दा सँगै सुतेको ज्वाइँलाई कुट्छ । बिहेमै छोरी नलैजावोस् भनेर लात्तले दिन्छ । यहाँ घरज्वाइँ नराख्न छोरी आफैसँग आँखैअगाडि बसोस् भन्ने मनोविज्ञानले बाबु अराजक छ । उसले जन्मैदेखि हुर्काएको छोरीको माया गुम्ने डरले अराजक बनाउँछ । तर पूर्णरुपमा छोरीलाई माया नगर्ने होइन ऊ । जब बिन्जुरीले बाउलाई सम्झाउँछ, मलाई लाहुरे मन पर्दैन, ज्वाइँले हाम्रो लागि कति सहेको छ भनेपछि बाबु विश्वस्त हुन्छ र बँदेलको सिकार गर्ने सर्तमा प्रस्ताव लगेर आफैले बँदेलको सिकार गरेर लाहुरेलाई पन्छाउँछ । यो बाबुछोरीको जन्मजात विपरीतलिङ्गीप्रति हुने प्रेमको सुन्दर प्रयोग छ घरज्वाइँमा ।
नेपाली आदिवासी समाजमा ब्रिटिस लाहुरेको आकर्षण उच्च रहेको हो । जुन लाङ्घाली समाजमा समेत थियो । तर, यो ग्रामीण वैचारिकीको झिनो विरोध बिन्जुरीले अस्वीकार गरेर अब गाउँ फर्कने गाउँमा इलम गर्ने युवाको खाँचो रोल्पा, रूकुमलाई छ भन्छ कथाले । त्यति पुरानो लाङ्घाली समाजमा कुन भाषा बोलिन्छ, कुनै आभास छैन । काइके खाम पाङ ढुट भाषाको कुनै शब्द उच्चारण गर्दा सिनेमा अस्वीकृत हुन्छ कि भन्ने भय छ निर्देशकमा । बिन्जुरीले मास्तर सा’प दुई–तीनपटक भनेपछि फेरि मास्टर सा’प नै भन्छ । मगरहरुको बोल्ने लवज अरु कुनै जातिसँग मिल्दैन । बोल्दा अलिक ढिलो हरेक वाक्यमा केही शब्द उच्चारण गर्दा कण्ठ्य उच्चारण अधिक हुन्छ । मगर भाषाको लवज अति लयालो छ । लेघ्रो तानेर मधुर बोलिन्छ । त्यो संवादमा देखिँदैन । शुद्ध खस नेपाली भाषी चरित्रहरुको सर्वाधिक बाहुल्यता छ । यस्तो खल्लोपनाले सांस्कृतिक सिनेमा मापन हुँदैन ।
मिरूनालाई मगर लवजमा पोख्त बनाएको भए यो सिनेमाको उचाइ अरु भव्य हुन्थ्यो । सम्भावना उसैमा थियो । राजेश थापा आफू मगर भए पनि त्यो लयको क्षमता देखिएन । दयाको लवज राईकै हो । मसिनो गरी सुन्दा थाहा हुन्छ । हिन्दी सिनेमाको केही असल पक्ष भनेको लवज हो जो बिहारी, मराठी, शीख लवजहरु आउँछन् । नुमा फुङ्मा लिम्बू लवज गाउँ आएको बाटोमा नवीनले छुको फुर्को जोडेर राईको भोजपुरे लवजको शक्तिलाई कायम राख्ने प्रयास गरेका छन् । तक्मे बूढा र माग्ने बूढाको खास सीप भनेको लवज हो । जो विशेष छ । सिनेमा निर्माणको एउटा अहम् उपलब्धि जातीय क्षेत्रीय स्थानिक लवजको उठान गर्नु हो । जसले हाम्रो भाषामा आएको विविधता फरकपन, स्तर र गतिलाई इङ्गित गर्छ । नेपाली आख्यान काव्यमा यो विविधता लेखिएको र लेखिँदै रहेको छ । आशा छ भावी सिनेमाले यो कुराको ख्याल गर्ने नै छ ।
मगरहरु गहना पहिरनमा समेत विशेष छन् केही कुरा गुरूङ र अन्य आदिवासीसित मिल्छ । त्यो विविधता सिनेमाले प्रष्टसँग भन्न सकेन । आमपात्रको मात्र सांस्कृतिक पहिरन देखिन्छ । नायकहरु नै यो अर्थमा ढुलमुल छन् । दया र मिरूनाको प्रायः पहिरन सामान्य आधुनिक देखिन्छ । भित्री बाक्लो सुरूवालमा कुटे चलाइरहेको दृश्य छ । गाउँमा बारी खन्दा त्यसो गरिन्छ जस्तो लाग्दैन । अरु लुङ्गीमा सक्यो । लुङ्गी लाहुरेहरुले भिœयाएको पहाडी महिला पहिरनको साझा बिम्ब हो । कुनै भव्य समारोहमा भव्य सांस्कृतिक पहिरनले सजिएको युवायुवतीहरुको झुण्ड तकसेरामा भेटिँदैन सिनेमाभरि । यद्यपि घरज्वाइँ हालसम्म बनेको पहाडी आदिवासीको राम्रो सफल सांस्कृतिक सिनेमा हो । यो हेरेपछि गर्वका साथ नेपाली सांस्कृतिक सिनेमा भन्न सकिन्छ ।