झापा/मेचीनगर नगरपालिका क्षेत्रका महिला प्रधानाध्यापक तथा शिक्षिकाले विद्यालयमा स्तनपान कक्षको अभाव भएको बताए।
नगरका ३१ जना महिला शिक्षिकाहरुले तीन महिने सुत्केरी विदा सकिएपछि शिशु लिएर विद्यालयमा जानुपर्ने बाध्यता रहेकाले अनिवार्य स्तनपान कक्ष आवश्यक राख्न माग समेत गरेका छन्।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथाकी, उपप्रमुख मिना उप्रेती र शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीलाई समेत भेट गरी स्तनपान कक्षको व्यवस्था गरिदिन आग्रह गरेको कविशिरोमणि माविका शिक्षिका नीलु शर्माले बताए।
“सरकारले सुत्केरी विदा भनेर तीन महिना बिदा दिने गरेको छ,” उनले भने–“त्यसपछि त विद्यालयमा जानैपर्छ।अधिकांश सुत्केरी गुरुआमाहरु आफ्ना बच्चाहरु च्यापेर विद्यालय पुगे उनका लागि स्तनपान गराउने अलग्गै सुरक्षित कोठाको व्यवस्था छैन।”
उनले नगरका अधिकांश विद्यालयमा स्तनपान कक्षको व्यवस्था नभएको बताए। उनले स्तनपान गराउन घरसम्म जानुपर्ने बाध्यता रहेता पनि उल्टै किन घर गएको भनेर खप्की खानुपर्ने अवस्था रहेको गुनासो गरे।
अलग कोठाको प्रबन्ध नहुँदा शिक्षिका र छात्राले महिनावारीको अवस्थामा विद्यालयमा असुविधा व्यहोर्ने गरेको मेचीनगर–१ स्थित वाल विकास आधारभूत विद्यालयका शिक्षिका फडिन्द्र पौडेलले बताए। अधिकांश विद्यालयमा स्तनपान कक्ष र अलगको व्यवस्था नभएको उनले सुनाए।
विद्यालयहरुमा स्तनपान कक्ष र अलग कोठा मात्र नभएर शौचालय, पिउने पानी, खेलमैदान, खाजा घरलगायतका सुविधा तथा संरचनाको अभाव रहेको शिक्षिकाहरुले गुनासो गरे । विद्यालयमा छात्रा तथा शिक्षिकाहरुका लागि अलग शौचालय नहुँदा अप्ठेरो अवस्थाको सिर्जना हुने गरेको मेचीनगर–१५ स्थित ज्ञानद्वीप आधारभूत विद्यालयका प्रधानाध्यापक अञ्जु पौडेलले बताए।
शिक्षिकाहरुले महिला प्रधानाध्यापक रहेका विद्यालयमा भौतिक सुविधाका संरचना निर्माणमा पर्याप्त बजेट बिनियोजन गरिदिन माग गरेका छन्। खानेपानीको धारा, शिक्षिका तथा छात्राका लागि शौचालय, स्तनपान कक्ष र अलग निर्माणमा सरकारले बजेट दिनुपर्ने उनिहरुको माग छ।
तुलनात्मक रुपमा ग्रामीण भन्दा सहरी क्षेत्रका विद्यालयमा सुविधा ज्यादा रहेको र गाउँका विद्यालयको भौतिक साधन र स्रोतको अवस्था दयनीय रहेको मेचीनगर–४ को दीपेन्द्र आधारभूत विद्यालयक प्रधानध्यापक शान्ता निरौलाले बताए।असुविधाकै कारण अधिकांश छात्राले पढाई छाड्ने गरेको उनको भनाइ थियो ।
मेचीनगर–२ को भानु माध्यमिक विद्यालयका प्रधानध्यापक खड्गकुमारी तिम्सिनाले विद्यालयमा मनोपरामर्श सेवाको व्यवस्था हुनुपर्ने र विद्यार्थी दिवा खाजाको रकम पर्याप्त हुनुपर्ने माग गरे। बाल कक्षामा कार्यरत शिक्षिकाहरु अवकाशबाट घर फर्किदा खाली हात जानुपर्ने गुनासो शिक्षिकाहरुले सुनाएका थिए ।
शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले शिक्षिकाहरुले उठान गर्नु भएको समस्या समाधानका लागि नगरपालिकाले शीघ्र पहल गर्ने र कतिपय विषय कार्यान्वयनको प्रक्रियामा रहेको बताए।
सुरक्षित मातृत्व तथा स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक स्वास्थ्य सस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ ।