उदयपुर/गाईघाट को रौतामाई गाउँपालिका वडा नम्बर –७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसके। तर उनले अहिले पनि कृषि र पशुपालनमा सक्रिय रहेका छन्।
यही पेशाबाट उनले वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ।
उनले १३ रोपनी जग्गामा फलफूलखेती गर्छन। सबैभन्दा धेरै लिच्ची र कागती रोप्नुभएको छ। कागती बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी गर्ने गरेको उहाँले जानकारी दिएका छन्।
३० वर्षदेखि उनले खसीबाख्रा पाल्दै आउनुभएको छ अहिले उहाँको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन्। एक सयमध्ये ३८ वटा त खसीमात्र छन्।
उनले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पाल्नुभएको छ। खसीबाट वार्षिक रु सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी चार लाखसम्म आम्दानी गरेका छन्। विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय छन्।
“मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ। बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ”, उहाँले भन्नुभयो, “राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।”
अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिनुहुन्छ । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिन्छन्। उनका चार छोरामध्ये उनि साहिँला छोरासँग बछन्।
हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको अनुभवले उनलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्छन“ उनी जस्तो कृषक व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुन तामाङ। उनि सफल कृषकमात्र नभई समाजसेवी पनि रहेका छन् ।”
पञ्चायतकालमा प्रधानपञ्च हुँदा उनले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गर्नुभयो र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गर्नुभएको प्राचार्य थापामगरले जानकारी दिए।
रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भने, “जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो। गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्कीए ।”
असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउछन्।“सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ।जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उनी भन्छन् , “यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।”
उनि दैनिक दूधभात, मासु र फलफूल खाने गर्छन। आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उनले सरसापटी दिने गर्छन्। ८० वर्षको उमेरमा पनि उहाँको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउछन्।