इलाम (चुलाचुली) । इलाम चुलाचुली गाउँपालिका–२ हात्तीलेदाका थाङ्साङ लावती आजकाल बिहान सबेरै गाईगोठमा भेटिन्छन् । उनको एकाध घण्टा गाईलाई घाँसपराल, खोलेफाँडोमा बित्छ । त्यसपछि दूध दुहुने कर्म चल्छ । “यस्तो व्यस्त दैनिकी सुरु भएको पनि दुई वर्ष बितिसकेछ”–उनी भन्छन् ।
घरभन्दा केही माथि छ, गाईगोठ । लामो टहरोमा पाँच माउ गाई छन् । टहरोको एकापट्टि बोर्डमा लेखिएको छ–‘नामजाङ लावती कृषि तथा पशुपालन फर्म’ । खासमा नामजाङ छोराको नाम हो । उनी भन्छन्, “यो फर्म अर्गानिकीकरणको प्रारम्भ बिन्दु हो ।” पाँच माउ गाईमध्ये तीनवटा दुहुना छन् । दैनिक २२ देखि २५ लिटर दूध उत्पादन हुन्छ । गाउँकै सहकारी अन्नपूर्ण सहकारी संस्थामा दैनिक दूध पु¥याउँछन् । “१५–१५ दिनमा पेमेन्ट गर्छ । श्रमको मूल्य चाहिँ आएको जस्तो हुँदो रहेछ । आफूले केही गरेको अनुभव हुँदोरहेछ”–उनी भन्छन् ।
थाङ्साङको बहुल परिचय छ । नेता, मुन्धुमविद् । बूढेसकालमा यी दुईभन्दा भिन्न परिचय बनाउन कम्मर कसेका छन् । त्यो परिचय हो अर्गानिक कृषक । “५० वर्ष पुगेपछि कृषिमा लाग्छु भन्ने पहिल्यै सोच बनाएको थिएँ । ५० वर्षसम्म चाहिँ डुल्ने हो, घुम्ने हो, विभिन्न अध्ययन गर्ने हो भन्ने नै थियो”–उनले विगतको योजना यसरी सुनाए । उनको योजनालाई आकार दिन करिब नौ वर्षदेखि हङ्कङ बसिरहेकी श्रीमती सञ्चमाया शेर्मालाई पनि बोलाए ।
करिब १५ वर्षअगाडि जापानकी ३३ वर्षीया मोडलको अन्तरवार्ता हेरेपछि उनमा कृषि कर्म गर्ने सोच पलाएको रहेछ । “पत्रकारको प्रश्नमा त्यो मोडलले मोडलिङबाट रिटायर्ड भएपछि कृषि गर्छु भनेर भनेकी थिइन् । त्यही इन्टरभ्यूबाट प्रभावित भएको थिएँ” कृषिमा आउने योजनाबारे विस्तृतमा भने, “त्यो इन्टरभ्यूले मेरो दिमागमा फरक प्रभाव पारेको थियो ।” खासमा उनको योजना अर्गानिकीकरण हो । त्यो प्रारम्भ बिन्दु चाहिँ गौशाला हो । कसरी ? भन्ने प्रश्न खस्न नपाउँदै उनले बेलिविस्तार लगाए, “गाईपालनबाट गोबर मल प्राप्त हुन्छ । जुन खेतीका लागि एकदमै राम्रो हो । यदि गाई, बाख्रापालन नगर्ने अनि अर्गानिक गर्छु भन्नु त मूर्खता मात्रै हो नि ।”
आफ्नो बुताले भ्याएसम्म गाईपालन गर्ने सोच छ । सय माउ बाख्रापालन गर्ने गरी तयारी थालेका छन् । “यो गोठ त्यसै निर्माण गरिएको हैन” गोठ देखाउँदै उनले भने, “यहाँ आफ्नो बुताले भ्याएसम्म गाईबस्तु पाल्छु । गोबर मल उत्पादन गर्छु । रासायनिक मललाई विस्थापन गर्छु ।” यो धारणा आउनुमा आफू काम गर्दै गरेको पार्टीको पनि योगदान छ । उनी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपाध्यक्ष हुन् । पाँचजना उपाध्यक्षमध्येका उनी एक हुन् । पार्टीको अवधारणामध्ये एक ‘इको इकोनोमी’ पनि हो । “इको इकोनोमी मुखले भनेर हुँदैन । मैले भाषणमा भने पनि जनताले पत्याउँदैनन् । व्यङ्ग्य गर्लान् । आफैले गर्दै गएर प्रमाणित गरेर देखाउने मन छ” उनले भने, “त्यसपछि जनतामा विश्वास पलाउँछ । हाम्रो नेताहरू भन्ने तर नगर्ने कारणले गर्दा हामीलाई गाली गरिरहेको हो । अब हामीजस्ता नेताहरू उदाहरणीय बन्नुपर्छ ।”
नेपालमा केही सम्भावना छैन भनेर विदेशिनेका लागि उदाहरणीय बन्ने उनको सोच छ । “मैले चाहिँ यही सम्भावना देखेको छु, त्यही भएर पनि कतै गइनँ । अरू अवसर पाउँदा पनि जागिर खाइएन । श्रीमतीलाई पनि यहीँ नै बोलाएँ”–उनले भने । शिक्षा सङ्कायबाट स्नातकसम्म अध्ययन गरेका लावती लामो समयदेखि मुन्धुम अध्ययनमा व्यस्त छन् । त्यसो त मुन्धुमसम्बन्धी पुस्तक पनि निकालिसकेका छन् । औपचारिक पढाइ छाडेपछि उनले देशदेशावरको इतिहास, समाजशास्त्र, राजनीतिकशास्त्र, बौद्ध ज्ञान, धम्मपदलगायत विषय अध्ययन गरे । “राजनीतिमा त मेरो आधी हो । आधी त मुन्धुम अध्ययनमै बिताउँछु”–उनी भन्छन् ।
रासायनिक मललाई विस्थापन नगरी अर्गानिकीकरण हुँदैन भन्ने उनको धारणा छ । हरेक नेपाली कृषकले रासायनिक मललाई विस्थापन नगरी सुखै छैन । “हाम्रो माटो मरिसक्यो । डेड भइसक्यो । यो माटो ध्वस्त भइसक्यो । केही वर्षपछि फाल्नुपर्छ । पहिला एक केजी युरिया मल लगाउँदा राम्रो फल्थ्यो । अहिले तीन केजी लगाउनुपर्छ । भोलि एक मन लगाउने अवस्था आउँदैन भन्न सकिँदैन । त्यस्तो अवस्था आए पैसाले कसरी पु¥याउने ?” उनले प्रश्नात्मक शैलीमा भने, “यसका लागि आजैबाट तयार हुनुपर्छ । माटोको अस्तित्व जोगाउन सबै लाग्नुपर्छ । हाम्रो माटोमा गड्यौलाहरू हराइसके । अर्गानिक खेती गर्नुपर्छ । ता कि अरूतिरबाट आयात गर्नुपर्दैन ।”
सरकारले दक्षिण एसियाकै देश श्रीलङ्काबाट पाठ सिक्नुपर्ने उनी बताउँछन् । श्रीलङ्का अर्गानिकीकरणतर्फ लागिरहेको छ । अहिले रासायनिक मललाई विस्थापन गर्ने राज्यले नीति लिएको छ । खेती नै नेपालको एकमात्रै उपाय हो भन्ने विषयलाई मनन् गर्नुपर्ने उनी बताउँछन् । फर्मलाई व्यवस्थित गर्न यतिबेला बैङ्कको ऋण लिने प्रयासमा छन् । “तर, बैङ्कले पत्याएन, लोन दिन खोजिरहेको छैन । हुन्छ हुन्छ भन्न छाड्दैन; अहिलेसम्म दिएको छैन” उनले भने, “कृषिमा लोन छैन भने अन्यमा के केमा छ, त्यसैबाट मिलाएर दिनुस् भनिरहेको छु ।” अझै २० वर्षसम्म कृषि कर्म गर्ने उनमा आँट छ । “५० वर्ष पुगियो, अझै २० वर्षसम्म गर्न सक्छु भन्ने हिम्मत छ”–उनले भने । कृषिमा नवपुस्ताको चासो नदेख्दा उनी चिन्तित छन् । “नवपुस्ताले कृषि त बाध्य भएर गरेको छ, अहिलेका केटाकेटीहरू कृषि त छुनै मान्दैनन्” उनले भने, “त्यही कुरालाई चेन्ज ल्याउन मुभमेन्ट गर्ने हो ।”