धरान (ब्लाष्ट) धरानको जेसिजको ‘जेसिज सप्ताह’ कार्यक्रम अन्तर्गत बुधबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
शिबिरमा सय जनाको स्वास्थ्य परिक्षण गरि निशुल्क औषधी समेत वितरण गरिएको धरान जेसिजकी अध्यक्ष आयुष्मा शाक्यले जानकारी दिईन् । धरान–३ स्थित जेसिज भवनमा आयोजीत स्वास्थ्य शिबिरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एडिस्नल प्रोफेसर डा.रितेश चौधरी, डा.आचल सचान लगायतको टोलिले परीक्षण गरेका थिए ।
शिविरमा जाँच गराउनेहरुलाई एलिक्जर हेल्थ साईन्स प्रालि, नेपाल फर्मास्युटिकल प्रालि लगायतले निशुल्क औषधी वितरण गरेको शिबिरका संयोजक सल्मान अन्सारीले बताए ।
४९ विद्यार्थीलाई शैक्षिक सामग्री
जेसिज सप्ताहको ‘उज्यालो भविष्य परियोजना’ अन्तर्गत मंगलबार धरानका २२ सामुदायिक विद्यालयका ४९ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा.इन्द्रमोहन झाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई झोला, कपी, ज्यामिति बक्स, कलम, पानी राख्ने बोतल, काईंयो, साबुन, नेल कटर, टिफिन बक्स जस्ता सामग्री वितरण गरिएको परियोजनाका संयोजक गौरव आचार्यले जानकारी दिए ।
विद्यार्थीहरुलाई जम्मा १ लाख २२ हजार ५ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको धरान जेसिजकी अध्यक्ष आयुष्मा शाक्यले जानकारी दिईन् । उनका अनुसार शैक्षिक सामग्री वितरणका लागि विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गरेका थिए ।
हेल्दी बेबी प्रतियोगीता सम्पन्न
जेसिज सप्ताह अन्तर्गतको ‘हेल्दी बेबी प्रतियोगीता’मा धरान मन्टेश्वरी एकेडेमीका आयम ज्ञवाली विजेता बनेका छन् ।
त्यस्तै ब्लुजम मन्टेश्वरीकी नोरिन भुजेल फस्टरनरअप र ब्लुजमकै ईदोया नाईरा राई सेकेन्डरनरअप घोषित भएका छन् । त्यसैगरी धरान मन्टेश्वरीका शिभाङ अग्रवाल मस्ट ट्यालेन्ट, मन्टेश्वरी किन्टरगार्टेनका आराध्यश्री राई मस्ट फ्रेन्ड्ली, धरान मन्टेश्वरीका वेदेशराज श्रेष्ठ मस्ट अबिडेन्ट, कुन्साङ तामाङ मस्ट एक्टिभ घोषित भए । धरान मन्टेश्वरीकै तोरेस मगर बेस्ट स्किन, मन्टेश्वरी किन्डर गार्टेनकी निति श्रेष्ठ मस्ट फोटोजेनिक र होलि गार्डेनकी पियुषा श्रेष्ठ वेष्ट हेयर घोषित भए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिपुटी डाईरेक्टर डा.इन्द्रकुमार लिम्बुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेवा देय दबु धरानका अध्यक्ष मनोहर शाक्य, मन्टेश्वरी किन्टर गार्टेनकी प्रिन्सिपल शुलेखा जोशी लगायतका अतिथि रहेका थिए । प्रतियोगीतामा बीपी प्रतिष्ठानकी एडिस्नल प्रोफेसर डा.सिप्रा चौधरी मुख्य निर्णायक तथा डा. रञ्जना विष्ट, डा.सन्तोष साह र डा.सुवास केसी निर्णायक रहेका थिए । त्यस्तै ट्यालेन्ट तर्फका निर्णायकहरु नृत्य निर्देशक नन्दा राई र मिस एसईई २०१८ की विजेता नविना मग्राती तथा फोटोजेनिक विधाका निर्णायक प्रशान्त श्रेष्ठ रहेको प्रतियोगीताकी संयोजक सुजाता देवले जानकारी दिईन् ।
भदौ ८ गतेबाट सुरु भएको जेसिज सप्ताह अन्तर्गत पहिलोदिन नृत्य प्रतियोगीता र दोस्रो दिन वक्तृत्वकला प्रतियोगीता भएको थियो । सप्ताह अन्तर्गत विहीबार मानसिक रोग सचेतना कार्यक्रम आयोजना गरिने सप्ताहका मुल संयोजक राजेन्द्र रिजालले बताए । कार्यक्रममा बीपी प्रतिष्ठानका मानसिक रोग विभाग प्रमुख प्रा.डा.धनरत्न शाक्यले मानसिक रोग बारे जानकारी गराउने कार्यक्रम रहेको मुल सह संयोजक राजु श्रेष्ठले जानकारी दिए । शुक्रबार सप्ताहको समापन हुने उनले बताए ।