आत्महत्याबारे सचेतना, संवाद, पैरवी, कार्यक्रम र नीति निर्माणको लागि सन् २००३ देखि सेप्टेम्बर १० लाई आत्महत्या रोकथाम दिवसको रूपमा मनाउँदै आएको छ । संयोगवश म आफू पनि सन् २००३ देखि नै मानसिक स्वास्थ्य क्षेत्रमा लागेको हुनाले यसमा सुरुदेखि नै हरेक वर्ष केही न केही आफूले सकेको गर्दै आएको छु । सन् २००६ मा यसबारे लेख लेखेको थिएँ ।
यसबारे अनलाइन र प्रत्यक्ष कार्यक्रम, प्रवचन; रेडियो, टिभी, पत्रपत्रिकामा जानकारीमूलक अन्तरवार्ता; विविध तहका विद्यार्थीलाई यस विषयमा कक्षा; अनि हरेक दिन आकस्मिक सेवा, अन्तरङ्ग र बहिरङ्ग सेवामा निरन्तर आत्महत्यासँग सम्बन्धित जानकारी प्रवाह र सेवामा संलग्न हुँदै आएको छु । यस विषयमा हाम्रो स्थानीय तथ्याङ्क र जानकारीको लागि विविध अनुसन्धानमा संलग्न भइयो, थेसिस पनि गराइयो, जर्नल आर्टिकल पनि प्रकाशित गरियो । ‘आत्महत्या र मनोरोगः हाम्रो दायित्व’ पुस्तक लेखी वि.सं. २०६४ मा प्रकाशित गरियो । हरेक वर्ष सेप्टेम्बर १० मा आफैलाई प्रश्न गर्छु- के पो गर्दा हुन्छ ? अब के गर्नुपर्छ ? हरेक वर्ष यस विषयमा केही न केही नारा लिएर सेप्टेम्बर १० आउँछ । त्यसमा घोत्लिन्छु; हो त नि भनेर आफैले गरेका काम र देखे पाएका कुराहरूको समीक्षा पनि गर्छु, विभिन्न मञ्च र फोरमहरूमा सामग्रीहरु पस्किन्छु । बोल्छु, लेख्छु र कतिपय सृजना पनि गर्छु । यद्यपि हरेक दिन मानसिक स्वास्थ्य सेवामा आएका आत्महत्याका केसहरूले आफैलाई गिज्याएजस्तो पनि लाग्छ ।
आत्महत्यातिर धकेल्ने शत्रुहरू खित्खिताएर अट्टहास गरेजस्तो लाग्छ । यसबाट बच्ने बचाउने तŒव, संयन्त्रहरू कमजोर रहेको महसुस गर्छु । हाम्रा कोशिस र कदमहरू फितलो रहेको देख्छु । तपाईं हामी सबैको हातेमालो विना हरप्रयासले मूर्तरूप लिने छैन । यसवर्ष सन् २०२४ को पनि यो सेप्टेम्बर १० को दिन अगाडि ठिङ्ग उभिन आइपुगेको छ ।
केही दिनपहिले केन्द्रबाट नै यसबारे काम गर्न बन्ने समितिमा बसिदिन आग्रह भएकोले आमन्त्रण गरेको कल पनि आयो । आज आत्महत्या रोकथाम दिवसमा यस विषयमा केही कुरा पस्कँदैछु ! जसको सरोकारको विषय हो, तिनले समस्याको अपनत्व लिएर जागरुक भई त्यस विषयमा केही गर्दा नै समाधानको सम्भावना हुन्छ र यही मर्ममा हामीले आत्महत्या रोकथामको पवित्र अभियानलाई अगाडि लानु परेको छ ।
हामीकहाँ मनोरोगको खतरा ज्यादा देख्छु । यसबाट बचाउने बचावटका तŒवहरू भने कम देखा पर्छन् । रोग लागिहालेमा उपचार व्यवस्थापनको पूर्वाधार, जनशक्ति, सेवा सुविधा, जन-जागरुकता, सरकारको कार्यनीतिमा प्राथमिकता सबै सबै नाम मात्रका देखिन्छन् । यस्तो अवस्थामा आत्महत्याको समस्या विकराल हुनु स्वभाविक हो । किनकि मानसिक रोग नै आत्महत्याको प्रमुख र प्रत्यक्ष कारक तŒव हो । मानसिक रोगको समयमै पहिचान, निदान र उपयुक्त उपचार गर्नु नै आत्महत्या रोकथामको एक महŒवपूणर् उपाय हो । मनोसामाजिक प्रतिकूलता पनि सँगै गाँजिएर आत्महत्यासँग सम्बन्धित हुन्छन्; तिनको पनि यथोचित सम्बोधन आत्महत्या रोकथामको लागि आवश्यक हुन्छ ।
यस वर्षको नारा (Changing the Narrative on Suicide with the call to action Start the Conversation) ले फेरि झक्झक्याएर संवादको सुरुवात गरौँ भनेको छ । हरेक वर्ष एक नयाँ नारासहित नयाँ सिराबाट प्रयास अगाडि बढाउने हो । जीवन जोगाउने यो अभियानमा जनचेतना, जागरुकता, सकारात्मक सोच, वैज्ञानिक पहुँच र जुझारु पाइलाको विकल्प हुनै सक्दैन । आत्महत्या जस्तो संवेदनशील र उच्च महŒवको सूचकमा सकारात्मक सुधारको लागि सबै जिम्मेवार हुनुपर्छ । व्यक्ति, परिवार, समाज, राज्य संयन्त्र र सेवाप्रदायक सबैले आ-आफ्नो भूमिका निभाऔं ।
यदि कसैमा आत्महत्याका खतरासूचक लक्षणहरू (warning signs) देखिएका छन्, नशासेवन गर्न थालेको वा त्यसमा हालै वृद्धि भएको छ, हालै ठूलै तनावमा परी मनोरोगका विभिन्न लक्षणहरू देखापरेका छन्, निराशा र आत्महानिका र हरेस खाएका अभिव्यक्ति र व्यवहारहरू देखिएका छन् भने तिनलाई नजरअन्दाज नगरौं (acknowledge) । आत्महानि र हत्यामा प्रयोग हुनसक्ने माध्यम, सामग्री तथा स्थानप्रति सतर्कता अपनाऔं । खतरामा रहेका व्यक्तिलाई एक्लै नछाडौं (care) । व्यक्ति र परिवारले मानसिक समस्या र तनावको समयमै पहिचान, निदान र व्यवस्थापन उपचारको लागि सुसूचित होऔँ (treat) । आत्महत्याबारे संवादको थालनी गरौं । आफ्ना पीडा र समस्या शुभचिन्तक र सेवाप्रदायकसँग बाँडौं । परिवार, साथीभाइ, नातागोताले आफूबाट कसैलाई आत्महत्यातिर धकेल्ने बोलीव्यवहार नगरौं । सके सहयोग गरौं; मानसिक रोगका लक्षणहरू देखिएमा उपचारको लागि सहायता गरौँ । समाज र राज्य संयन्त्रले यसको गाम्भीर्यता बुझेर यसको जनचेतना र आवश्यक सेवा सुविधाको लागि पहल गरौं । शिक्षक, पत्रकार र प्रबुद्ध वर्गले यसका लागि आवश्यक पैरवी गरौं । सबैले मिलेर आवाज यसरी उठाउँ कि वर्षैभरि ध्वनित भैरहुन् ।
कसैलाई आत्महत्याको सोच, हुट्हुटी, विचार आएमा वा यसको कालो छाया मात्र लागेमा पनि सजग भई जीवन रक्षार्थ र स्वास्थ्य पुनः प्राप्तिका लागि उपयुक्त कदम उठाऔं । हामीकहाँ हामीलाई आत्महत्यातिर धकेल्ने खतरा तŒवहरूबारे चिन्तन, मनन् र अनुसन्धान गरी तिनको यथोचित सम्बोधन पनि गर्दै जाऔं । आत्महत्या एक बहुआयामिक समस्या हो । सामाजिक, शैक्षिक, स्वास्थ्य, आर्थिक र अरू धेरै कुराहरूसँग सम्बन्धित हुने भएकोले त्यसै अनुसार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक जस्ता विविध आयामसहितको व्यापक संयन्त्रयुक्त समाज, देश र युगमा विकास र परिवर्तनको अभियानले नै मात्र यसमा पूणर्ता हासिल हुनेछ ।
फेरि पनि भन्छु- आत्महत्याको समस्यालाई यथार्थपरक ढङ्गले बुझौं । वैज्ञानिक दृष्टिकोणले सम्बोधन गरौं । आऔं, आत्महत्या रोकथामबारे संवादको थालनी गरौं । यो हाम्रै समस्या हो । यसको रोकथाम र व्यवस्थापन सम्भव छ । जागरुक भएर यसको सामना गरौं । यसको लागि समयमै तनाव व्यवस्थापन तथा मानसिक रोगको निदान र उपचार गरौं । आहार, विहार, विचार र वातावरणमा अनुकूलता ल्याई समग्र स्वास्थ्यको प्रवर्धन गरौं र आत्महत्या दूर गरौँ । सबैलाई शुभकामना ।
(लेखक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक तथा मनोरोग विभागका प्रमुख हुन् ।)