सङ्खुवासभा/सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का एक समाजसेवी परिवारले समुदायले सञ्चालन गरिरहेको तेजरत्न आँखा उपचार केन्द्रलाई ५० लाख सहयोग गरेको छ।
दिवङ्गत आमाबुबाका नाममा खाँदबारीका मनोज श्रेष्ठका पाँच दाजुभाइले आज एक कार्यक्रमबीच खाँदबारी आँखा उपचार केन्द्रलाई सहयोग रकमको चेक हस्तान्तरण गरे।
दाताहरुले यो रकम गरिब, असहाय, दलित र विपन्न वर्गको उपचारमा खर्च गर्नेगरी सहयोग गरेका हुन् । यसअघि श्रेष्ठ परिवारले तेजरत्न आँखा अस्पताल निर्माण गर्न ६ रोपनी जग्गा निःशुल्क दान गरेको थियो ।
नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकमलाई अक्षयकोषमा राख्ने र त्यहाँबाट आएको ब्याजबाट आर्थिक अभाव भएका आँखाका रोगीको उपचार गरिने बताए।
सदरमुकाम खाँदबारीमा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक करिब चार हजार आँखाका रोगी उपचारका लागि आउने गरेका छन्। यहाँ झण्डै चार सय जनाभन्दा बढीको वार्षिक रुपमा मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गर्ने गरिएको छ।