गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पथ्र्याे । जसरी जान्ने विद्यार्थीमा माया वर्षिन्छ, त्यसैगरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षकलगायत घरपरिवारको उत्तिकै गाली वर्षिन्थ्यो । एकदिन डाँडागाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो, ‘ओहो १ भान्जाबाबू त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?’
मामाको स्वर एकाएक उसकी आमाको कानसम्म पुगेपछि आमाको क्रोध वर्षिन थाल्यो, ‘यसको के कुरा गर्नु, भुस छ भुस, यसको पढाइको कुरा नसोध भाइ । यसलाई खेल्न पाए पुग्छ । दोस्रो त्रैमासिक परीक्षामा पनि आठवटा विषयमा सातवटामा तारा लागेको छ । गणितमा ६ महिना पढेर ३ नम्बर ल्याइर’छ ।’
आमाको गालीले ठूलो रूप लेला भन्ने डरले ऊ आफ्नो कोठामा जान बाध्य भयो । कहिलेकाहीँ बाबाले गाली गर्नुहुँदा आमाले थप्न बाँकी राख्नुहुन्नथ्यो । अब त उसलाई आफन्तकामा मात्र होइन, समाजमा समेत मुख देखाउन लाज हुने भइसक्यो । ऊ प्रायः कोठैमा बसेर दिन काट्ने कुरामा अभ्यस्त थियो । एकान्तप्रेमी उसले मलाई त अलि–अलि उसका मनका भावना पोख्थ्यो तर मैले उस्तो गम्भीर पनि लिँदिनथेँ ।
एकदिन विज्ञान विषयको शिक्षकले उसलाई गाली गर्दै भन्नुभयो, ‘यस्तो भुस दिमाग भएकोले जीवनमा केही गरिखाला त, अहँ, खोइ तैँले पढेर खाँदैनस् । बरु गोरुलाई कक्षामा राख्दा अलिकति बुझ्ला, तैँले के बुझ्लास् र । पृथ्वीको भार रैछस् ।’
‘आफ्नो कमजोरी आफैलाई थाहा छैन’ गोपालले मलाई भन्ने गथ्र्याे, ‘हेर् ललित, म त वास्तवमै पढाइमा कमजोर छु । तैँले राम्रो पढ्नू । म घरमा आमाबाबाको आँखाको तारो छु । स्कुलमा प्रायः शिक्षकको गाली र सजाय नपाएको दिन हुँदैन । तर म के गरुँ ? मलाई कुनै आइडियै आउँदैन । वास्तवमा मलाई कसैसँग बोल्न, कुरा गर्न, कसैकोमा जान पनि मन लाग्दैन । जसकोमा गए पनि पहिला पढाइकै कुरा निस्किन्छ । खै, म त आफैलाई आफू भार भएकोजस्तो लाग्छ ।’
मैले पनि नसम्झाउने गरेको त कहाँ हो र १ तर मनको वह कतिसम्म डरलाग्दो बन्दो रहेछ । एकदिन बिहानै बुबा र म एकछिन बिहानीको यात्रामा निस्केका थियौँ । बिदाको दिन भएकाले मनमैजु हुँदै सामाखुसीतिर जाने सोच बनाएर कोठाबाट निस्क्यौँ । पुसको महिना भएकाले चिसो त छँदै थियो । साथमा आकाश पनि रिसाए झैँ दुःखित लाग्थ्यो । जाडोको मौसममा बिहानीको यात्रा साँच्चै नै रमाइलो पनि हुन्छ नै । गोङ्गबु चोकसम्म आइपुगेपछि बाबासँग साथी गोपालको घरछेउ हुँदै जान आग्रह गरेँ ।
कतै बाटामा उसलाई भेटिएला कि भन्ने आशा राखे पनि हामीले उसकोमा जाने भन्ने सोच चाहिँ बनाएका थिएनौं । तर अकस्मात उसको घर नजिकै पुग्दा ठूलो रुवाबासी र हो–हल्लाले हामीलाई त्यतैतिर खिच्यो । केही मानिसहरू फोनमा पुलिसलाई खबर गर्ने कुरा गरिरहेका थिए । कोही चाहिँ मोटरबाइकमा खोज्न जाने भन्ने गफ गरिरहँदा मनमा एक प्रकारको डर मिश्रित उत्सुकता जाग्यो ।
वास्तविक घटनाको चुरो थाहा नहुँदा कसलाई सोधूँ, म आफै रनभुल्लमा परेँ । मनमा अनेकथरी विचारका साथमा नकारात्मक सोच र त्रासको पनि एकाएक तँछाड मछाड गर्दै दौड शुरु भयो । आखिर सोधौँ म कसलाई ? गोपालकी आमाले मलाई देख्नासाथ एक्कासि अँगालो हालेर गोपालले घर छाड्नुको कारण सोध्न थाल्नुभयो । गोपालको साथी भएको हुनाले समस्यालाई धेरै बुझ्नु पर्ने व्यक्तिको रूपमा त म पो परेँ । बाबाले पनि घटना जान्न चाहेपछि गोपालकी आमाले नै भन्न थाल्नुभयो, ‘बेलुकाको खाना खाएपछि त्यस्तै पढाइको विषयमा चर्चा भएको थियो । उसलाई कमजोर भइस्, मेहनत गर् भनेकी थिएँ । मैले अलि–अलि गाली पनि नगरेकी हैन । तर आजभोलि निकै दिन भइसकेको थियो ऊ हामीसँग खासै नजिक पर्दैनथ्यो । अस्ति सँगै मन्दिर जाऔँ न भन्दा पनि जान मानेन । खोइ के भएको हो, साथीसँग पनि घुम्न जाने कुरा गर्दैनथ्यो । आज बिहानसम्म उठेको नदेखेपछि चिया लिएर ओछ्यानमा जाँदा उसलाई देखिनँ ।’
गोपालकी आमा झनै भक्कानिएर रुन थाल्नुभयो । मैले सम्हालिनलाई आग्रह गर्न पनि सकिनँ । एक्कासि मेरो मनमा एउटा ख्याल आयो, अनि मैले उसको कोठामा जान अनुमति लिएर कुनै आधार खोज्न चाहेँ । कोठालाई राम्ररी मिलाइएको थियो । किताबहरूमा गाता लगाइएको, कापी झनै समेटेर राखिएको देखेँ । उसको सिरानीमुनि हेर्दा एउटा कागज भेटेँ– बडो मजाले पट्याइएको थियो । त्यो कागज खोलेर आफै हेरूँ या नहेरूँ डर पनि साथै उत्सुकता मनमा एकाएक आउन थाल्यो । तैपनि आँट गरेर कागज मैले मात्रै पढ्ने उद्देश्यले खोलेँ । त्यहाँ लेखिएको थियो –
आदरणीय आमाबाबा १ म गल्ती गर्न चाहन्न । म पढ्न कमजोर छु । यो मेरै कारणले हो । तर म हजुरहरूको मायाको भोको छु । म लेख्न पनि जान्ने त होइन तर समस्याले झापड हानेपछि, मन पग्लिएपछि सायद सरस्वती माता लाचार हुँदिरहिछन् । आज यो पत्र पढेपछि तपाईंहरूले मलाई खोज्ने आवश्यकता नपरोस् । तर म आमाबाबाको आशालाई प्रेमपूर्वक पूरा गर्न चाहन्छु ।
उही यहाँहरूकै छोरा
गोपाल मैनाली
मैले सानै स्वरमा पढेको भए पनि गोपालकी आमा ढोकामा आएर सुनिरहनुभएको रहेछ । उहाँ त भक्कानिएर झनै रुन पो थाल्नुभयो । अनि हामी सबैलाई थाहा भयो– उसले घर मात्र छोडेको हो, उसलाई केही भएको छैन ।
दिन दुगुना रात चौगुना चर्चा चल्न थाल्यो । फेसबुकमा, स्टाटस, म्यासेजहरूमा उसकै खोजीका कुरा हुन थाले । स्कुल, चोक जताततै उसकै खोजीमा सकेसम्मको प्रयास गर्न थालियो । विदेशबाट उसकै बारेमा गुनासाहरू बढिरहेका थिए । मानिसहरूका अनुमान अनि निर्देशनका ठेलीले म झनै पीडामा छट्पटिन थालेँ । टेलिभिजन, पत्रपत्रिकामा भने जानकारी दिने कि नदिने भन्ने विचारहरू फैलिन थाले । अन्ततः सबैमा तनाव र पीडा बढ्न थाल्यो । अनेकथरी शङ्का उपशङ्काले आफन्तहरूमा चिन्ता बढाइरहेकै थियो । गोपालकी आमाले खाना नखाएको दुई दिन भइसकेछ । बल्ल सम्झाएपछि उहाँले अलिकति खानुभयो । मलाई पनि रात–दिन निद्रा लागेन । घरै छोडेर यति ठूलो पीडा दिएकोले त अलि–अलि रिस पनि नउठेको होइन ।
चाैथो दिन बिहान बाबाको मोबाइलको ‘सुर्के थैली खै’ को रिङ टोनले मेरो निन्द्रा भगाइदियो । मनमा त एउटै विचारले तनाव बढाएकै थियो । एकाएक मेरो नाम लिएर कसैले बुबासँग बोलेको सुन्दा म अलि चासोमा थिएँ । बाबाले फोन मेरो हातमा थमाइदिनुभयो । उहाँ आफ्नै धुनमा व्यस्त हुनुहुन्थ्यो । एकजना बूढो मान्छेको आवाज थियो । ‘भाइ तिमी नै हौ ललित भनेको ?’
‘हो, मै हो’ मैले उत्तर दिएँ । ‘तर मैले त हजुरलाई चिनिन नि १’ त्यो आवाजभन्दा अर्कै आवाज अनायास मेरो कानमा प¥यो जसको अपेक्षामा मलगायत सबै पीडामा थियौँ –उही गोपालको आवाज । मैले उसलाई एकै साथ प्रश्नका ठेलीहरू तेस्र्याएँ – तँ कहाँ छस्, किन घर छोडेको ? किन हामीलाई यति धेरै पीडा दिएको ? उसको स्वर काँपिरहेको थियो । उसले एकजना भक्तपुरको व्यापारीसँग बिन्ती गरेर फोन गरेकाले उसले मलाई नै फोन गर्न आग्रह ग¥यो । मैले ऊ भएको ठाउँमा तुरुन्तै आउने वाचा गरेर बाबा–आमासँग भनेपछि हामीलगायत सबैतिर एक किसिमको खुसी फैलन थाल्यो ।
उसलाई देखिसक्दा मेरा आँखा रसाए । ऊ पनि रोइरहेको थियो । गोपाललाई कति पनि पीडा नथपियोस् भन्ने सोचेर उसलाई गाली नगरी उसकी आमाको हालत भनिदिएँ । त्यसपछि त ऊ झनै घुँक्कघुँक्क गरेर रुन थाल्यो । अब जे भइसक्यो भैगो घर जाऔँ भनेर मैले उसलाई लिएर आएँ । घरमा एकाएक खुसी मिश्रित गालीले गोपाल नवआगन्तुक झैँ बन्यो । उसले आफ्नी आमा र बाबाको त्यो अवस्था देखेर झनै आफूलाई सम्हाल्न सकेन । आमाबाबासँग प्रण गर्दै भन्न थाल्यो, ‘मैले ठूलो गल्ती गरेँछु । अब त म कहिल्यै यस्तो गल्ती गर्दिनँ । मैले आफैले नपढेर बाबाआमाको गालीलाई ईख लिएँछु ।
यहाँबाट गएपछि पैसा सकिइहाल्यो । त्यसपछि मैले एकजना इँट्टाभट्टाको मान्छेसँग काम दिन आग्रह गरेँ । उसले काम त दियो तर उसका जूठा भाँडा माझ्न लगायो । अलिकति तरकारी र थोरै बासीभात दिएपछि आमाले घरमा माया गरेर दिएको खाना मीठो भएन भनेर फालेको, घुर्की लगाएको झल्झली याद आयो । पढ्नु त मेरै लागि थियो तर मैले बाबाआमा र गुरुहरूको लागि पढ्ने ठानेर बाबाआमाको गालीलाई ईख लिएँछु । ‘सरी’ बाबाआमा अब म पक्का पनि पढ्छु ।’
ऊ रोइरहेको थियो । रुवाइ मिसिएको स्वरमा ऊ अझै भन्दै थियो, ‘इँट्टाभट्टाको मान्छेले इँट्टा लोड गर्न लगाउँदा बल्ल थाहा भयो, बाबाले मलाई पढाउनका लागि कति दुःख गर्नुभएको रहेछ । मैले यी कुरा त कल्पना पनि गरेको रहेनछु ।’ उसका यस्ता कुरा सुनेपछि उसकी आमाले अँगालो हालेर गालाभरि म्वाइ खान थाल्नुभयो, ‘छोरा अब म कहिल्यै गाली गर्दिन । मैले त्यस्तो गाली गर्नु राम्रो होइन‘थ्यो । मैले अन्जानमा बोलेको कुराले तिमीलाई ठूलो चोट परेछ ।’ उसको बाबाले अर्काेतिरबाट अँगालो हालेपछि ऊ एक्कासि बाबाको अँगालोमा परेर माफी माग्न थाल्यो । उसको टाउको सुम्सुम्याउँदै बाबाले अबदेखि केही समस्या भए घरमा भन्ने गर्नुपर्छ भन्ने सल्लाह पनि दिनुभयो । त्यहाँको दृश्यले सबैको अनुहारमा खुसीको रङ देखिन्थ्यो । ऊ लगायत उसका सबै परिवारले मलाई धन्यवाद दिनुभयो । मलाई उसको सबै घटना अझै ताजै लाग्छ । त्यस्तो गोपालले त्यसपछिका हरेक परीक्षामा राम्रो अङ्क ल्याएको देखेर सबै शिक्षकहरू पनि खुसी हुनुहुन्थ्यो ।
त्यो घटना घटेको तीन वर्षपछि गोपाल स्कुलको पाँचौँ मेधावी विद्यार्थीमा पर्न सफल भयो । एसएलसीको नतिजा प्रकाशनको प्रतीक्षामा सबै शिक्षकलगायत हामी आतुर थियौँ । सबैभन्दा अचम्म त्यहाँ भयो, जुन अप्रत्यासित थियो कि गोपाल विद्यालयको मात्र होइन, नेपालकै प्रथम भएको रहेछ । यो पत्याउने कुरा जस्तो त धेरैलाई लागेको थिएन तर त्यो यथार्थ थियो । गोपाल अहिले नेपाल एयरलाइन्सको मेनेजर बनेको छ । म उद्योग मन्त्रालयमा छु । हामी कहिलेकाहीँ ती विगतका घटनामा हराउँछौँ । साह्रै अविश्मरणीय लाग्दो रहेछ– विगतमा हराउँदा ।