चैत्र १३ अर्थात् मार्च २७ का दिन धराने रङ्गकर्मी तथा रङ्गप्रेमीहरूले धरानको होटल रत्न इनमा भव्यरूपमा ५९ औं विश्व रङ्गमञ्च दिवस मनाए । धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न विश्व रङ्गमञ्च दिवस कार्यक्रममा आरम्भ नाट्य डबलीको सहकार्यमा ‘समसामयिक राजनीतिक तथा सामाजिक विकृति–विसङ्गतिहरूप्रति व्यङ्ग्य प्रहार गरिएको’ हास्यव्यङ्ग्यात्मक नाटक ‘न्याय हराएको देश’ पनि मञ्चन भयो । कार्यक्रममा धरानका बुद्धिजीवी, साहित्यकार तथा रङ्गकर्मीहरूको उल्लेख्य उपस्थिति रह्यो, जसले धराने रङ्गमञ्च र रङ्कर्मीहरूलाई ऊर्जा थपिएको आभास मिल्यो । वरिष्ठ बुद्धिजीवी, भाषाविद् तथा समालोचक प्रा. डा. टङ्क न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विश्व रङ्गमञ्च दिवसको परिम्पराअनुसार हरेक वर्ष जारी गरिने सन्देश अङ्ग्रेजी र नेपालीमा वाचन गरिएको थियो । विश्व रङ्गमञ्च दिवसको अवसरमै धराने रङ्गमञ्चका वरिष्ठ कलाकार, रङ्गकर्मी प्रेम सुब्बालाई सम्मान पनि गरियो ।
आफ्नो सम्बोधनको क्रममा प्रमुख अतिथि डा. न्यौपानेले धरान कला र रङ्गमञ्चका लागि उर्वरभूमि भए पनि यहाँ अझै एउटा रङ्गमञ्च हल नहुनु ज्यादै दुःखद् स्थिति भएको चर्चा गर्दै राज्य र राज्यका निकायहरूले रङ्गमञ्चीय विकासका लागि नाट्यघर वा थिएटर हल निर्माणमा ध्यान आकर्षण गर्नुपर्ने बताए । अहिले आफू प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी सुझाव समितिको संयोजक रहेको हैसियतले प्रदेश नं. १ का हरेक नगरमा नाट्यघर निर्माण गर्ने विषयमा पहल गरिरहेको बताउँदै प्रदेशस्तरीय प्रतिष्ठान गठनपछि रङ्गमञ्चलगायत अन्य कलाका क्षेत्रहरूमा पूर्वाधारहरू निर्माण हुने बताए । त्यस्तै, अर्का वक्ता प्रा.डा. भीम खतिवडाले धरानमा फेरि रङ्गमञ्च ब्युँतिएको सुखद् अवस्थामा सबै मिलेर रङ्गप्रस्तुति गर्ने नाट्यशाला निर्माणमा पहल गर्नुपर्ने धारणा राखे । नाटक दृश्यकाव्य भएको र यसको प्रदर्शन नभएसम्म नबुझिने हुँदा नाट्यशाला प्राथमिक आवश्यकता रहेको बताउँदै नाट्यशाला निर्माणलाई साझा मुद्दा बनाउन सम्पूर्ण धराने जनतालाई आग्रहसमेत गरे ।
यसअघि पनि धरानमा विश्व रङ्गमञ्च दिवस नमनाइएको होइन । तथापि यस पटकको विश्व रङ्गमञ्च दिवसको महत्ता बेग्लै छ । पहिले पहिले छिटफुट रूप विश्व रङ्गमञ्च दिवस कुनै नाट्य संस्थाको आयोजनामा हुने गर्दथ्यो । आरम्भ नाट्य डबलीले पनि २०७३ देखि यो दिवसलाई निरन्तरता दिँदै आएको छ । तर, यस पटक धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा विश्व रङ्गमञ्च दिवस सम्पन्न भएको छ । यसको अर्थ अब विश्व रङ्गमञ्च दिवस स्थानीय सरकारको वैधानिकताभित्र परेको छ । सङ्घीय व्यवस्थाअनुसार धरान उपमहानगरपालिकाका दिवङ्गत मेयर तारा सुब्बाको विशेष पहलमा स्थानीय सरकारको तहमा नेपालमै पहिलो पटक स्थापना भएको धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा अब विश्व रङ्गमञ्च दिवस बर्सेनी मनाइने परम्परा बसेको छ । कला र रङ्गमञ्चको शहर भनेर पहिचान बनाएको धरानमा अब स्थानीय सरकारको पहलमा एउटा थिएटर हल बनाउनु अति बाञ्छनीय भएको छ र धराने रङ्गकर्मीहरूले यसबारे वर्तमान धरान उपमहानगरपालिकाका नेतृत्व तह र सबै जनप्रतिनिधिहरूको यसतर्फ ध्यान आकर्षण हुनेछ भन्ने आशा एवम् विश्वास लिइएको छ । सम्भवतः यो आशा एवम् विश्वासमा तुषारापात नहोला !
अब लागौं–मूल विषयतर्फ अर्थात् विश्व रङ्गमञ्च दिवसको महत्व र नेपालको सन्दर्भमा यसको उपादेयतातर्फ ।
विश्व रङ्गमञ्च दिवसको शुरुवात
हरेक वर्षको अङ्ग्रेजी महिना मार्च २७ तारिखका दिन आईटीआई अर्थात् इण्टरनेशनल थिएटर इन्स्टिच्युटको आयोजनामा विश्व रङ्गमञ्च दिवस मनाइन्छ । यसको शुरुवात सन् १९६१ देखि भएको हो । विश्वका विभिन्न देशहरूमा विश्व रङ्गमञ्च दिवसको अवसरमा विभिन्न प्रस्तुत्य कलाहरू (एभचाबmबmष्लन ब्चतक) को आयोजना गरी भव्यताका साथ मनाउने गरिन्छ । आईटिआईको आयोजनामा हुने विश्व रङ्गमञ्च दिवस विश्वका ९० भन्दा बढी देशहरूमा स्थापित आईटिआईका शाखाहरूले मनाउने गर्दछन् । यो दिवस सांस्कृतिक विविधताको अभिव्यक्तिप्रति सम्मान र मानव समाज र सभ्यताको जन्मसँगै शुरु भएका प्रस्तुत्य कलाहरू र रङ्गमञ्चको प्रचार–प्रसार, संरक्षण, सम्बद्र्धन तथा विकासका लागि आयोजना गर्ने गरिन्छ । यो दिवस विश्वभरिका रङ्गसंस्थाहरू, रङ्गकर्मी तथा रङ्गप्रेमीहरूले मात्रै नभएर विभिन्न विद्यालय, विश्वविद्यालय, कलेज र एकेडेमीहरूले पनि मनाउँछन् ।
विश्व सन्देश दिने परम्परा
विश्व रङ्गमञ्च दिवस मनाउने क्रममा हरेक वर्ष थिएटरमा उत्कृष्ट व्यक्ति, निर्देशक वा रङ्चमञ्चसम्बन्धी विद्वान, विज्ञ वा विचारकहरूमध्येबाट रङ्गमञ्च कला र यसको महŒवबारे विश्व सन्देश दिने परम्परा रहेको छ । यो परम्परा दोस्रो विश्व रङ्गमञ्च दिवस सन् १९६२ बाट शुरु गरिएको हो र पहिलो रङ्गमञ्चीय विश्व सन्देश फ्रान्सका रङ्गकर्मी, रङ्गचिन्तक, कवि तथा सङ्गीतकार जीन काक्ट्युद्वारा दिइएको थियो । यो वर्षको सन्देशकर्ता क्युबाका स्टेज डाइरेक्टर, नाटककार, थिएटर एजुकेटर र प्रोफेसर कार्लोस सेल्ड्रान हुनुहुन्छ । रङ्गमञ्चको महŒवमाथि प्रकाश र त्यसमार्फत् अन्तर्राष्टित्य सद्भावलाई साझा रूपमा प्रतिबिम्बित गर्न विश्व सन्देशको परम्परा शुरु गरिएको हो । विश्व सन्देशलाई ५० भन्दा बढी भाषामा अनुवाद गरेर आईटिआईद्वारा आयोजना गरिने मूल कार्यक्रममा सन्देशकर्ताले पाठ गर्दछन् र विश्वका विभिन्न देशहरूमा रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूमार्फत् प्रसार गरिन्छ । आईटिआईको मूल कार्यक्रम आईटिआईको सुझावमा संयुक्त राष्ट्रको युनेस्कोले फरक–फरक देशमा संयोजन गर्ने काम गर्दछ । पोहोर पेरिसमा भएको थियो भने यस वर्षको मूल कार्यक्रम प्राचीन तथा आधुनिक रङ्गमञ्चको केन्द्र मानिने इटालीको रोम र पेसारो शहरमा सम्पन्न भयो ।
यो वर्ष पहिलो दिन रोममा सन्देशकर्ता कार्लोस सेल्ड्रानले विश्व सन्देश पाठ गरे र विभिन्न देशका थिएटरहरूले नाटकहरू मञ्चन गरे भने दोस्रो दिन पेसारो शहरमा छुट्टै प्रकारको विशेष कार्यक्रमको आयोजना गरियो । उक्त विशेष कार्यक्रमअन्तर्गत पेसारोस्थित जेलका बन्दीहरूसँग बच्चाहरूको खेल ‘स्क्रिबर इल टिट्रो’ प्रतियोगिता गराइएको थियो । यस्तो कार्यक्रमले समाजबाट अलग रहेका समुदायमा पनि रङ्गमञ्चको जादू स्थापित गरेर रङ्गमञ्चको मानवीय पक्ष उजागर गर्ने र समस्त विश्वमा रङ्गमञ्चीय कलामार्फत् भावनात्मक सञ्चार र आपसी अनुबोधलाई मजबुत बनाउने आईटिआईले विश्वास व्यक्त गरेको छ ।
विश्व रङ्गमञ्च मनाउन’को उद्देश्य
आईटिआईद्वारा विश्वभरि महोत्सवको रूपमा मनाइने विश्व रङ्गमञ्च दिवस मनाउनुको प्रमुख उद्देश्य विश्वभरि रहेका विभिन्न देश र समुदायका आ–आफ्ना सबै रूपमा रङ्गमञ्च र रङ्गमञ्चीय गतिविधिलाई प्रोत्साहित गर्नु हो । मानिसहरूमा आफ्ना सबै प्रकारका रङ्गमञ्चको मूल्य र महत्व अवगत गराउनु यस दिवसको अर्को उद्देश्य हो । त्यसैगरी थिएटर समुदायहरूलाई व्यापकस्तरमा आफ्ना कामहरू अघि बढाउन उत्साह प्रदान गर्दै सक्षम बनाउने पनि विश्व रङ्गमञ्च दिवसको अर्को उद्देश्य रहेको छ, त्यसो गर्नाले विभिन्न देशका सरकार, राज्य र राजनीतिक नेताहरूले आफ्ना देशका सबै रूपका प्रस्तुत्य कला र विशेष गरी रङ्गमञ्चसम्बन्धी मूल्य र महत्व बुझ्नेछन् र रङ्गमञ्चलाई समर्थन गर्नेछन् । आफू स्वयम्का लागि पनि सबै रूपका रङ्गमञ्चको आनन्द लिनु र रङ्गमञ्चको आनन्द अरुसँग साझा गर्नु पनि यस दिवसको उद्देश्य मानिएको छ । वास्तवमा विश्व रङ्गमञ्च दिवस आफ्ना उद्देश्यहरूमा सफल भएको छ । किनकि आजको उच्च प्रविधिको विकास भएको विश्वमा पनि रङ्गमञ्च जीवितै छ र विश्वभरि अझ दुबो झैँ मौलाउने क्रममा बढ्दै गएको छ । नेपालमा पछिल्लो समयमा रङ्गमञ्चको जुन उभार आएको छ, त्यसमा विश्व रङ्गमञ्च दिवस र आईटिआईको विश्वव्यापी अभियानको हात रहेको कुरालाई कदापि नकार्न सकिन्न ।
संक्षेपमा आईटिआई
आईटीआई प्रथम युनेस्को महानिर्देशक सर जुलियन हक्सले नाटककार एवम् उपन्यासकार, जेबी प्रिस्ट्लीको पहलमा सन् १९४८ मा स्थापित संस्था हो । द्वितीय विश्व युद्ध समाप्तिपछि जब शीतयुद्धको शुरुवात भयो, त्यस समयमा रङ्गमञ्चको जादूमय कलागत शक्तिबाट अन्तर्राष्ट्रिय शान्ति, सद्भाव, भाइचारा संस्कृति र मानवीय सम्बन्धहरू प्रवद्र्धन गर्ने लक्ष्यका साथ आईटिआई जन्मेको हो । आईटीआईका संस्थापकद्वयको मुख्य उद्देश्य एउटा यस्तो कला संस्था निर्माण गर्ने थियो, जसले संस्कृति, शिक्षा र कलाहरूलाई युनेस्कोका लक्ष्यहरूसँग अलायन्स गर्न र प्रदर्शन कलासम्बद्ध सबैको स्थितिमा सुधार ल्याउन आफ्ना प्रयासहरू गर्न सकोस् । अन्तर्राष्ट्रिय कला र प्रदर्शन कलाको शिक्षामा सहयोग गर्नुका सिकारु, गैरव्यावसायिक र पेशेवर सबैका लागि समानरूपले एकसाथ आपसी समझदारी विकास गर्दै विश्वशान्तिका लागि प्रदर्शन कलाको उपयोग गर्न सकियोस् भनेर उनीहरूले आईटिआई संस्था परिकल्पना गरेका थिए । र, अहिले आईटीआई प्रदर्शन कलाका लागि विश्वको सबैभन्दा ठूलो संस्थाको रूपमा विकसित भइसकेको छ, जसको विस्तार ९० भन्दा बढी देशहरू र पाँचै महाद्वीपमा भएको छ ।
नेपालको सन्दर्भमा दिवसको उपादेयता
आईटिआईको लक्ष्य, उद्देश्य अनि विश्व रङ्गमञ्च दिवसका उद्देश्यहरूले नै यसको महŒव र उपादेयतालाई प्रष्ट पार्दछ । यो दिवसले कलागत आनन्दलाईमात्रै होइन, विविध संस्कृतिका अभिव्यक्ति स्वतन्त्रता, मानव सभ्यतासँग गाँसिएको रङ्गमञ्च र यसका मानवीय भावनाहरू, सद्भाव, विश्वशान्ति स्थापनाका सत्प्रयासहरूलाई केन्द्रित गरेको छ, जसले आज विश्वव्यापी रूप लिएको छ । युगीन चेतनाका सशक्त माध्यम र संस्कृति निर्माणको प्रक्रिया मानिने रङ्गमञ्च आज विश्व रङ्मञ्च दिवसकै निरन्तरताका कारण विश्वभरि नै पुनर्जीवित भएको छ, जसको परिणाम नेपालमा पनि देखिएको छ । अहिले नेपालमा जुन रूपमा रङ्गमञ्चको उभार देखिएको छ, त्यसमा विश्व रङ्गमञ्च दिवसको प्रभावकै प्रतिफल हो भन्दा अत्युक्ति नहोला ।
रङ्गमञ्चीय अभिनयलाई प्राकृत अभिनय मानिन्छ र यो माध्यम वा कला प्रत्यक्षतामा सबैभन्दा शक्तिशाली छ । युनेस्कोसँग अन्तरङ्ग सम्बन्ध आईटिआई र विश्व रङ्गमञ्च दिवसको रङ्गमञ्चीय संस्थाहरूलाई विश्वव्यापी रूपमा सक्षम बनाई विभिन्न देशका सरकार, राज्य र राजनीतिक नेताहरूलाई आफ्ना देशका सबै रूपका प्रस्तुत्य कला र रङ्गमञ्चसम्बन्धी मूल्य र महŒव बुझाउने र त्यसमार्फत् रङ्गमञ्चप्रति उनीहरूको समर्थन जुटाउने जुन उद्देश्य राखेको छ, त्यसमार्फत् नेपाल सरकार र राज्य संयन्त्रलाई रङ्गमञ्चको विकासमा सकारात्मक बनाउन सकिनेछ । विश्व रङ्गमञ्च दिवसमार्फत् नेपालभित्र रहेका विभिन्न समुदाय र रूपका प्रस्तुत्य कलाका साथै लोकनाट्य परम्पराहरूको सम्बद्र्धन तथा संरक्षण गर्ने अभियान सञ्चालन गर्न सकिनेछ । नेपालको सन्दर्भमा विश्व रङ्गमञ्च दिवसको यतिमात्र नभई अरु पनि अनेकौं उपादेयताहरू छन् ।