- भोजराज श्रेष्ठ
कविता लेखनीबाट साहित्यमा प्रवेश गरेका कथाकार जनकऋषि राई सामाजिक कथाकारका रूपमा परिचित छन् । सामाजिक यथार्थवादी कथा लेख्न रुचाउने कथाकार राईको २०६६ सालमा ‘बस्तीभित्र’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । बस्तीभित्र कथा सङ्ग्रहको शीर्षकथा भने २०५५ सालमा गुम्बज नामक साहित्यिक पत्रिकामा प्रकाशित गर्दै कथा क्षेत्रमा पदार्पण गरेको देखिन्छ । कथाकारितामा दुई दशक पार गरिसकेका कथाकार राईको ‘छोरा’ कथा हालै बाह्रखरी बुक्सले गरेको कथा प्रतियोगितामा उत्कृष्ट २५ भित्र पर्न सफल भएको छ तर बाह्रखरीले उक्त कथाको शीर्षक ‘पराती’ राखिदिएको छ । परातीको अर्थ–थारू समुदायले आफ्नो पीडा पोख्ने एकालापको गीत । यो गीत प्रायः रातको अन्तिम प्रहरमा गाइन्छ (पराजुली, २०७७, पृष्ठ ११६) । कथाकार राईले समाजका विकृति, विसङ्गति, मानवबीचमा हराउँदै गएको मूल्यमान्यतालाई सूक्ष्म ढङ्गबाट चित्रण गर्छन् । छोरा कथाको उद्देश्य पनि त्यसैभित्र केन्द्रित छ । हाम्रो समाजमा बुबा र छोराबीच बिघटित हुँदै गएको मूल्यमान्यतालाई कथाले उठान गरेको छ । तराईको ग्रामीण परिवेशलाई सजीव रूपमा उतारिएको कथामा थारू समुदायले बोल्ने भाषालाई संवादको रूपमा प्रस्तुत गरेर कथाकारले आञ्चलिकताको दह्रो प्रमाण दिन खोजेका छन् ।
विषय प्रवेशः
नेपाली कथा लेखनीको इतिहास झण्डै अढाई शताब्दी नाघिसकेको छ । पूर्वीय तथा पाश्चात्यजगत्मा कथाको अतिप्राचीन परम्परा रहेको पाउन सक्छौं । नेपालमा कथाको प्रारम्भ भने विक्रम संवत् १८२७ मा शक्तिबल्लभ अज्र्यालद्वारा नेपालीमा अनुवाद गरिएको ‘महाभारत विराटपर्व’ कै नाम अग्रपङ्क्तिमा आउँछ तर प्रारम्भिक कालमा विधागत सचेतताको कमी थियो । यसरी सुरु भएको कथाविधाले प्रकारान्तरमा आइपुग्दा विधागत सचेतता मात्रै होइन, सूक्ष्म अङ्कनतिर अगाडि बढेको पाइन्छ । समकालीन नेपाली कथाकाहरूले आफ्नो ध्यानलाई केन्द्रित गरेको सबैभन्दा ठूलो र उर्वर क्षेत्र हो–मानवजीवन, यसका अन्तर्वाह्य सम्बन्धसूत्र एवम् सीमाहरूको विश्लेषण (श्रेष्ठ, २०६८, पृष्ठ ३२) । कथाकार राईले पनि मानव मूल्यको खोजी गर्दै प्रशस्तै कथाहरू लेखेको पाइन्छ । अझ २०५२ सालदेखि सुरु भएको माओवादी सशस्त्र जनयुद्धका कारण राजनीतिक चेतना, पहिचान र अस्तित्वको खोजी पछिल्लो समय व्यापक भएको पाइन्छ । ‘अस्तित्व’ शब्दले मान्छेको अस्तित्वलाई जनाउँछ (पाण्डे, २०६२, पृष्ठ ३५) । अझ व्यापक अर्थमा वासुदेव त्रिपाठीले पाश्चात्य परम्पराको सैद्धान्तिक परम्परा भाग–२ मा यसरी उल्लेख गरेका छन्–
अस्तित्ववादको खास तात्पर्य ‘अस्मिता’ (म छु वा हुँ) को बोध हो । जीवनजगत् सङ्गतिपूर्ण छैन वा विसङ्गत छ र त्यसैकारणले जीवनजगत् तर्क वा बुद्धिवृत्तिका आधारमा व्याख्या गर्न सकिने वा बुझिने छैन अनि जीवनजगत् निस्सार, व्यर्थ, शून्य वा निरर्थक छ भन्ने बोध नै विसङ्गतिबोधको मुटु हो भने त्यसैका माझ पनि अस्मिता वा व्यक्तिसत्ताको सचेत सङ्घर्ष नै अस्तित्ववादको मूल अभिप्राय हो (२०६५, पृष्ठ १२४) ।
व्यक्तिको अस्तित्व खोजी गर्ने क्रममै साहित्यमा अस्तित्ववादको जन्म भएको देखिन्छ । अस्तित्ववाद मानव दर्शन भएको विद्वानहरूको मत छ । युद्धको विभीषिकाबाट ग्रसित मानवीय मूल्यको विघटन, शून्यता, मृत्युबोध, असुरक्षा, आत्मपीडा, चरम निराशा र निस्सारता आदिको बोध गरेका मान्छेले अन्तर्मुखी भएर आफ्नो समस्याप्रति गम्भीर हुँदै सोच्न थालेको हुनाले नै अस्तित्वप्रति सचेतता जागृत भयो । यही अस्तित्वको खोजी नै साहित्यमा अस्तित्ववादको रूपमा चर्चित भएको हो (अधिकारी, २०७४, पृष्ठ ४६) । कथाकार राईको बस्तीभित्र कथा सङ्ग्रहमा पनि अस्तित्ववादको खोजी गरिएको छ । अझ ‘छोरा’ कथाका पात्र पन्नालाल विसङ्गतिका बीच पनि अस्तित्व रक्षाका लागि प्रयत्नरत रहेका देखिन्छन् । सामाजिक परिवेशले पन्नालालको जीवनमा विसङ्गतिपूर्ण मूल्य मान्यता एवम् परिस्थितिले उब्जाएका सङ्कटका बीच पनि मानव अस्तित्वको खोजी गरेका छन् । अस्तित्ववाद व्यक्तिलाई सम्पूर्ण भ्रमबाट मुक्त पार्न चाहन्छ र भ्रममुक्त भएको एउटा शून्यको विन्दुबाट आफूलाई खोज्ने र आफ्नै प्रयासले आफूलाई प्राप्त गर्ने जाँगर र आत्मविश्वास व्यक्तिभित्र जगाउन खोज्छ (पाण्डे, २०६२, पृष्ठ ३६) । कथाकार आफै पनि अस्तित्ववादी चिन्तनको अग्रमोर्चामा उभिँदै आएका छन् । उनका कथा पनि अस्तित्ववादी वैचारिक धरातलमै उभिएका छन् ।
अस्तित्ववादी चिन्तन
अस्तित्ववादी चिन्तनमा केन्द्रित हुनुअघि अस्तित्ववादको उद्भव कहाँ र कसरी भयो भन्ने जान्नु अति आवश्यक छ । अस्तित्ववाद अङ्ग्रेजी शब्द ‘एक्सिस्टेण्टिआलिजम’ को नेपाली रुपान्तरत हो । यो शब्द जर्मन भाषाको मूल शब्द ‘एक्सिटेञ्जफिलोसिफिक’ को अङ्ग्रेजीमा रूपान्तरण भएको हो (पाण्डे, २०६२, पृष्ठ ३५) । ‘अस्तित्व’ मा ‘वाद’ शब्दको योगबाट अस्तित्ववादको जन्म भएको देखिन्छ । यसको सर्वप्रथम प्रयोग उन्नाइसौं शताब्दीमा डेनमार्केली चिन्तक सोरेन अबाई किर्केगार्डले गरेका हुन् । यसलाई फलाउने फुलाउने काम भने ज्याँ पल सात्र्र, फ्रेडरिक नित्से, मार्टिक हाइडेगर र अल्वर्ट कामुले गरेको देखिन्छ । प्रथम र दोस्रो विश्वयुद्धले मानव अस्तित्वमाथि नै प्रश्न उठेको अवस्थामा साहित्यमा यसको प्रयोग व्यापक रुपमा हुन थाल्यो । ज्ञानु पाण्डेले विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद भन्ने पुस्तकमा अस्तित्ववादको साहित्यमा प्रवेशबारे लेख्छिन्–
युद्धको विभीषिकाले मान्छेको अघिल्तिर मानवजीवनको क्षुद्रता, नृशंसता, स्वार्थपरकता र कपटीपनालाई यसरी नङ्ग्याइदियो कि उसको मनबाट सम्पूर्ण कुराप्रतिको आस्था र विश्वास रित्तियो । चारैतिर व्याप्त निराशा, वेदना, करुणामाझ मान्छेले आफूलाई नितान्त एक्लो र निरीह अवस्थामा रहेको पायो । सम्पूर्ण स्थापित मूल्यमान्यताहरूको निस्सारता बोधपछि मान्छेसित अब बाँकी भन्नु केवल आफ्नो शारीरिक अस्तित्वबाहेक अरू केही रहेन । यस परिस्थितिले उसलाई अन्तर्मुखी बनाइदियो । मान्छे आफूभित्र नै आफ्नो अस्तित्वको समस्याका समाधानहरू खोेज्न लाग्यो । अन्ततः विश्वयुद्धको परिणामस्वरूप मानवजगत्मा व्याप्त यही निराशा र निस्सारताको बोध नै बौद्धिक वर्गमा अस्तित्ववादप्रतिको आस्था ब्यूँझाउने प्रेरक परिस्थिति बन्न पुग्यो (२०६२, पृष्ठ ४८) ।
मनुष्यलाई अस्तित्वशील प्राणीको रूपमा परिभाषित गर्दै साहित्यमा पनि यसको प्रयोग व्यापक हुँदै आएको छ । त्यसअर्थमा कथाकार राईको ‘छोरा’ कथामा अस्तित्ववादी चिन्तन भेट्टाउन सकिन्छ । कथामा तराईको ग्रामीण परिवेशमा हुर्किएको पात्र पन्नालालको विसङ्गतिपूर्ण जीवनको मूल्यमान्यता खोजी गर्ने क्रममा कथाकारले वृतकारीय ढाँचामा कथा अगाडि बढाएका छन् । पन्नालालको हलिया जीवनलाई प्रथम पुरुष दृष्टिविन्दुमा उभिएका कथाकारले वर्णनात्मक शैलीलाई अँगालेका छन् । कथामा म र पन्नालाल प्रमुख पात्रका रूपमा आएका छन् भने पन्नालालको कान्छो छोरा हसि, हसिकी श्रीमती, सहिद छोरा छेदिलाल, श्रीमती, म पात्रका आमा, बुबा, श्रीमती र नाबालक छोरा, स“धियार र उसको छोरो सहायक पात्रका रूपमा आएका छन् । प्रमुख पात्र म, पन्नालाल, सहायक पात्र हसि मात्रै मञ्चीय छन् । अन्य सबै पात्रहरू वर्णित छन् । हलिया भएर पनि छोरा हसिलाई गाउँमै राख्ने निक्र्यौल गर्नुले पन्नालालभित्रको अस्तित्ववादी चिन्तन प्रष्टिन्छ । ‘हलिया बसेका पन्नालालले खाडी र पैनीमा माछा मार्न सिकाउँदै छोरा हसिलाई मधेसमै राखे ।’ (पृष्ठ १०६)
पन्नालालका अगाडि आएका विषम परिस्थितिसँग पनि ऊ हार्न चाहेको छैन । उल्टो उनी जस्तोसुकै परिस्थितिसँग जुध्न तयार देखिन्छन् । म पात्रका बुबासँग यसरी दुःखेसो पोखेका छन्–
‘हम गरिब छि । फेन यी दुःख हमरा घुरघुर के कथिले आवै छे । है हौ मालिक, दुखिए के दुख है छे नै ?’ (हामी गरिब छौं । किन यी दुःखहरू हाम्रोमै घुमीघुमी आउँछ । हामी दुखियालाई नै किन दुःख हुन्छ ?)’ (पृष्ठ १०६) ।
नियतिको चौघेरोमा उनी फसेका छन् । अस्तित्ववादी दृष्टिले आफ्नो जीवनप्रति बफादार र इमानदार बन्दै दुःखमा नआत्तिइकन सुखको खोजीमा पन्नालाल अगाडि बढेका छन् तर जीवनमा उनले कहिल्यै खुसीको श्वास फेर्न पाएका छैनन् । जेठो छोरा छेदिलाल १० वर्षे सशस्त्र जनयुद्धमा होमिएका कारण सहिद बनेका छन् । त्यही पिरले पन्नालालकी श्रीमती बितेकी छिन् । नियतिको खेलसँग उनी हारेका छन् । एकपछि अर्को दुःखको सामना गरे पनि पन्नालाल पीडामा मलहम लगाउन पराती गाउँछन् । जुन अस्तित्व बोधको द्योतक हो । हलिया जीवन व्यतीत गरिरहेका पन्नालालले माओवादीको ‘जसको जोत उसको पोत’ को आधारमा मोहियानी स्वरूप केही जमिन पाएका छन् तर उनलाई विभिन्न बहानामा सँधियारले सास्ती दिँदै आए पनि विद्रोह गर्न सकेका छैनन् । उनमा अस्तित्ववादी चिन्तन देखिए पनि हलिया चिन्तनबाट मुक्त हुन सकेका छैनन् । सँधियार मालिकले ठूलो घर बनाएको कारणले जाडोको समयमा घामको प्रकाश छेकिएको प्रसङ्गमा पन्नालाल भन्छन्–
मालिक के बगैल मे बड्का घर बनादेल कै । सब रौदे छेकल जाइ छै ।’ (मालिकले सिमानामै घर बनाइदिएर घाम छेकिदियो ।) (पृष्ठ १०७) ।
पन्नालाल अपठित छन् तर हसिलाई भने केही बुझोस् भन्ने उत्कट अभिलाषा पलाएको देखिन्छ । पन्नालालको कुरा हुन्थ्यो–
‘भाषण सुनैछि त कुछो सिक्वो करैसी ने । हमर बेटा हसि बाते नै बुझैछै ।’ (भाषण लामो भए पनि नयाँ कुरा सिकिन्छ । मेरा हसिले कुरा बुझ्दैन ।) (पृष्ठ ११२) ।
हलिया भएकाले उनमा भने विद्रोही भावना जागृत भएको देखिँदैन । कथाकारले पनि उनमा त्यो भावनाको विकास गराइदिएका छैनन् । माओवादी सशस्त्र द्वन्द्वको चर्चा गरे पनि पन्नालालको छोरालाई सहिदको रूपमा वर्णित मात्रै गरिएको छ । कहिलेकाहीँ विद्रोही स्वभाव आउँछ तर त्यो आंशिक मात्रै छ । एउटा प्रसङ्ग हेरौं–
आफ्नो निडरता देखाउन ऊ दाह्रा किट्दै भन्थ्यो–‘हमर जेठ्का बेटा मैदानै मे मोरले । हम हु मैदाने मे मोरबै ।’ (मेरो जेठा छोरा मैदानमा म¥यो म पनि मैदानमै मर्छु ।) (पृष्ठ ११३) ।
ऊभित्र अस्तित्व चिन्तन प्रशस्तै रूपमा आएको छ तर त्यसलाई स्थापित गर्नका लागि उनी सक्रिय देखिँदैनन् । म पात्रले पनि पन्नालाललाई निरीह पात्रको रूपमा उभ्याएर अन्याय गरेका छन् । हलिया मुक्ति भइसकेको प्रसङ्ग कोट्याए पनि म पात्रले पन्नालालको मानसिकतालाई त्यही विसङ्गतिमा रुमल्याइदिएका छन् । माओवादीले दिलाइदिएको जमिन सँधियारले खोस्ला कि भनेर पन्नालाल सधँै त्रसित छन् । एक प्रसङ्गमा म पात्र आफैले भनेका छन्–
उनको भित्री इच्छा थियो–आफ्नै घरआँगनमा मर्न पाऊँ । उनको मनमा तत्कालीन माओवादीले दिलाइदिएको जग्गा सँधियारले कुनै पनि बहानामा खोस्न आउला भन्ने उत्तिकै डर थियो, (पृष्ठ ११३) ।
पन्नालाल कायरताको प्रतीक झैँ लाग्छन् । हरेक पटक म पात्रलाई सँधियारले आएर दुःख दिएको र सहयोगको आशा राखेका छन् तर म पात्र पनि उनलाई सहयोग गर्न सक्ने अवस्थामा कथामा वर्णित छैनन् । नेपथ्यमा सहर वर्णित छ । जहाँ म पात्र जागिर खाने काम गर्छन् । हरेक पटक मधेश आउँदा उनी पन्नालालसँग जोडिएका छन् । पन्नालालले आफ्नो छोरा हरुवाहरूको लागि ज्यानको बलिदानी दिएको प्रसङ्ग कोट्याए पनि आफूलाई त्यो रूपमा उभ्याउन सकेका छैनन् । पन्नालाल अपठित भएकाले पनि आफ्नो अस्तित्वको लडाइँ आफै लड्न नसकेको देखाइएको छ । नियतिको खेल सम्झेर उनी आफ्नो अस्तित्वका लागि पराती गाउँछन् । जुन थारू संस्कृतिमा मिथक नै बनिसकेको छ । त्यो पनि अस्तित्व हुनुको प्रमाण हो ।
यसरी पन्नालालको चरित्र र चिन्तन पक्षको विश्लेषणबाट अस्तित्ववादी अवधारणा निकै फितलो रूपमा प्रस्तुत भएको छ । म पात्रले पनि पन्नालालको अस्तित्ववादी अवधारणालाई सशक्त रूपमा उठाइदिएका छैनन् । म पात्र आफै पनि अस्तित्ववादी चिन्तनमा घोत्लिएका छैनन् । यसो हुनुको पछाडि कथाकारले समसामयिक युगमा छोराहरूको नैतिकता विघटित भएको देखाउनु हो । सँधियारका छोराले आफ्नै बुबामाथि आक्रमण गरेको घटना देखाएर छोराहरूको नैतिक मूल्यमान्यता स्खलित भएको देखाइएको छ । जसले गर्दा अस्तित्व ओझेलमा परेको छ । कथाका मुख्य पात्रको सट्टा वर्णित पात्रबाट मानवजीवनको मूल्यमान्यता विघटित भएको देखाइएकाले कथाको मूल भाव फितलो बन्न पुगेको छ । कथाका प्रमुख पात्र पन्नालाल छोरा हसिबाट मारिएको प्रसङ्ग ल्याएर कथा अन्त्य गरेको भए कथाको उद्देश्य पूर्ति हुनेथियो, त्यो हुन सकेको छैन । त्यसमा भने कथाकार चुकेका छन् ।
निष्कर्ष
मानव सृष्टिको सर्वोत्तम सिर्जना हो । जे जसरी भए पनि आफ्नो अस्तित्व कायम राख्न सक्रिय हुनु उसको विशेषता नै हो तर उसले नचाहीकन जन्मनु र नचाहीकनै मर्नुपर्ने विसङ्गतिपूर्ण यथार्थका बीच अनेकन दुःख सहँदै जीवन बाँच्न बाध्य हुन्छ । पन्नालाल त्यस्तै पात्र हो । माओवादी सशस्त्र द्वन्द्वमा लागेर आफ्नो अस्तित्व स्थापित गरेको भए अस्तित्ववादीको मूल मर्मसँग मेल खान्थ्यो । नेपाली समाजमा हलियाहरू दुःख, कष्टपूर्ण जीवनबाट माथि उठ्न खोज्नु आफैमा चुनौतीपूर्ण छ तर यहाँ त उठ्न खोज्ने प्रयास पनि गरिएको छैन । हरेक समय डरको पोको बोकेर उनी हिँडेका छन् । पन्नालालमा अस्तित्ववादी चिन्तन विभिन्न प्रसङ्गमा आएका छन् तर समाजसँग लड्ने सामथ्र्य देखाएका छैनन् । समग्रमा कथाकारले पन्नालाललाई अस्तित्ववादी चिन्तनको चौघेरामा उभ्याइदिएका छन् । विषम परिस्थितिमा पनि पन्नालालले आफूलाई उभ्याउँदै समाजको सामाना गर्न प्रयासरत छन् । यसले के देखाउँछ भने पन्नालालभित्र अस्तित्ववादी चिन्तन प्रशस्तै छ । समाजको किनारीकृत पात्र पन्नालाल जो आफ्नो अस्तित्व रक्षाका निम्ति सहयोगको हरदम अपेक्षा राखेका छन् ।
पराती–थारू समुदायले आफ्नो पीडा पोख्ने एकालापको गीत । यो गीत प्रायः रातको अन्तिम प्रहरमा गाइन्छ । मान्यताअनुसार, हरुवा बस्नेहरूले आफ्नो पीडा भुल्न एकसुरले यस्तो गीत गाउन थालेका हुन् । जो पछि सांस्कृतिक बिम्ब बन्यो ।
सन्दर्भग्रन्थ सूचीः
अधिकारी, सीता (२०७४) ‘अस्तित्वको चेतनाको कसीमा इन्द्रमाया र सुम्निमा’, ज्ञानदीप, (वर्षः ४, अङ्क २०, पृष्ठ ४५–४६) धरानः नेपाली विभाग महेन्द्र बहुमुखी क्याम्पस ।
पाण्डे, ज्ञानु (२०६२), विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद, काठमाडौंः नेपाली आख्यान समाज ।
पराजुली, राजेन्द्र (२०७७) (सम्पा.) उत्कृष्ट कथा २०७७, काठमाडौंः बाह्रखरी बुक्स ।
श्रेष्ठ, दयाराम (२०६८), नेपाली कथा भाग–४ (पाँचौं सं.), काठमाडौंः साझा प्रकाशन ।
त्रिपाठी, वासुदेव (२०६५), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग–२, (पाँचौं सं.), काठमाडौंः साझा प्रकाशन ।