‘किरात संस्कृति एउटै हो । यो पन्ध्र दिन रमाइलो भयो । ‘कल्चर प्रिजर्भ’ पनि त गर्नुप¥यो ।’ धरान आदर्श कलेजबाट भर्खरै कक्षा १२ उत्तीर्ण गरेका अतित लिम्बूले भने ।
आदिवासी जनजातिका चाड मध्ये तीव्र रुपमा अन्तरघुलित भएको पर्व हो साकेला । साकेलाको संगीत र युवा पुस्ताको आकर्षणले अतितलाई पनि तान्यो । सांस्कृतिक संरचनाले आफूलाई साकेला सिली सिक्न प्रेरित गरेको अतितको आशय थियो ।
धरान– ८ स्थित सभागृह लाइनमा अतितको घर छ । लिम्बू जाति पनि सांस्कृतिक सम्पदाले समृद्ध छ । तर, धान नाच भन्दा बढी अतितले साकेला हेरे । साकेला नाच्ने प्रयत्न गरे ।
‘राई जातिको भन्दा पनि किराती संस्कृति एउटै हो भनेर सिकेको हो, हाम्रो लिम्बूको पनि आफ्नै कल्चर छ, तर पनि मैले (साकेला) सिकें,’ अतित भन्छन्,‘मलाई साकेला एकदमै मनपर्छ, धेरै स्टेपहरु पनि यहाँबाट सिकिन्छ ।’
धरान १९ का सन्तोष तामाङले अन्य जातिले साकेला सिक्नै नपाउने (निषेध) को अवस्था देखेनन् । सानैदेखि कलाकारितामा आकर्षित सन्तोषले पनि साकेला सिक्न मन गरे । उँधौली, उँभौलीमा बेलाबेला उफ्रिएका उनलाई साकेलाको संगीतले तान्यो ।
‘सिक्नै पाउँदैन भन्ने पनि रैनछ नि त, मैले अप्रोच गर्दा हुन्छ भनेपछि सिक्न थालें ।’ सन्तोषले भने ।
राई जातिको संस्कार र संस्कृतिमा घुलमिल भएपछि सन्तोषले साकेला सिलीको सैद्धान्तिक ज्ञान र ढोल बजाउने कला सिके । यस्ता संस्कार, संस्कृति बाउबाजेबाट छोरा नातिमा सर्दै आउनुपर्छ भन्ने सन्तोषको मत छ ।
‘सुरुमा एउटा जाति र संस्कृतिको, अनि भूगोल र राष्ट्रको त्यसपछि विश्वभरी कै संस्कृति बनाउने काम युवा पुस्ताको हो,’ सन्तोषले भने, ‘संस्कृतिलाई विकास गर्न पनि ‘रिजेनेरेशन’ गर्नुपर्छ अनि ‘ग्लोबलाइजेशन’ हुनुपर्छ ।’
‘चण्डी नाच’ भनेर बुझ्ने गरिएको राई जातिको प्रागऐतिहासिक पर्व हो साकेला, साकेन्वा अर्थात् उँधौली, उँभौली । हिन्दूकरण हुँदा ‘चण्डी नाच’ भनिए पनि सांस्कृतिक जागरणसँगै अहिले ‘साकेला सिली’ का रुपमा स्थापित भएको छ यो पर्व ।
साकेला सिली गन्दै जाँदा हजारौं भए पनि मूलभूत रुपमा २ वटा हुने विज्ञ बताउँछन् । एउटा मानव जाति जन्मेदेखि मृत्युसम्म जीवनशैली झल्काउने सिली र अर्को पशुपन्छी जनावरको हाउभाउ प्रदर्शन गर्ने सिली ।
युवा पुस्तामा आफ्नो संस्कार संस्कृतिप्रति अल्मल नहोस् भन्ने उद्देश्यले प्रशिक्षण गराइएको र सफलताका साथ सम्पन्न भएको किरात राई यायोक्खा धरानका अध्यक्ष लोकेन राईले बताए ।
शनिबार धरानमा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजित साकेला सिली र ढोल बजाउने तालिममा ७४ जना प्रशिक्षित भए । ‘१५ दिनसम्म तालिम लिइसकेपछि अब यिनीहरुले प्रारम्भिक कार्यसमितिमा गएर आफ्नो सीप हस्तान्तरण गर्नेछन्,’ अध्यक्ष राईले भने, ‘संस्कृति पुस्तान्तरणको एउटा काम सुरु भएको छ ।’
सहभागीलाई परम्परादेखि ‘माझ किरात’मा नाच्दै, आएको सिलीका बारेमा व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरेको प्रशिक्षक महेश्वर राईले बताए ।
चैत्र १४ गतेदेखि १५ दिन प्रशिक्षण लिएका सहभागीलाई धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले प्रमाणपत्र प्रदान गरे ।
प्रमुख अतिथि नगर प्रमुख राईले संस्कार, संस्कृति पुस्तान्तरण हुनुपर्ने बताए । उनले संस्कृतिलाई छेडछाड गर्न नहुने बताए । ‘नक्कल मात्रले पर्याप्त हुँदैन, सैद्धान्तिक ज्ञानसमेत लिनुपर्छ,’ किरात राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका नगर प्रमुख राईले भने, ‘विभिन्न वर्ग, समुदायको संस्कार, संस्कृतिको जगेर्ना गर्न र उन्नयनमा लाग्न नगर सरकार प्रतिबद्ध छ ।’