नेपाल पत्रकार महासंघ सुनसरी शाखा र माेरङले  विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसर पारेर मिडिया हाउसमा स्वास्थ्य सामग्री वितरण गरेकाे छ । 

महासंघले माेरङले सोमबार मोरङभरीका मिडिया हाउसमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो । दोस्रो लहरको कोरोना भाइरस तीव्र रूपमा फैलिएकाले यसबाट जोगिन जिल्लाका मिडिया हाउसमा पुगेर प्रेस स्तन्त्रता दिवसको अवसरमा स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनालले जानकारी दिए । 

महासंघले मिडिया हाउस र पत्रकारहरूलाई सेनिटाइजर, माक्स वितरण गरेको छ । पत्रकार महासंघ मोरङका पदाधिकारी र कार्यसमिति सदस्यहरू विराटनगर महानगरपालिका भित्र रहेका १८ वटा मिडिया हाउसमा पुगेर माक्स र सेनिटाइजर वितरण गरेको हो । सङ्क्रमणको विस्तार तीव्र रहेकाले आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कता अपनाउन सञ्चारकर्मीलाई आह्वान गरिएको छ । सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय तथा मापदण्डहरु अवलम्बन गरी सुरक्षित भएर काम गर्ने वातावरण निर्माण गर्न पनि सबै सञ्चारगृहलाई पत्रकार महासंघले आग्रह गरेको छ ।

यसैगरी सुनसरी जिल्ला महासंघले पनि विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मिडिया हाउसमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

महासंघ सुनसरीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक मिडिया हाउसमा माक्स र सेनिटाइजर वितरण गरेको अध्यक्ष जनकऋषि राईले जानकारी दिए ।  

इटहरी नगरपालिका क्षेत्रमा उपाध्यक्ष गणेश निरौलाको नेतृत्वमा, इनरुवा नगरपालिका क्षेत्रमा कोषाध्यक्ष अजित झाको नेतृत्वमा, रामधुनी नगरपालिकामा धिरेन्द्र चौधरी (नेपाल आदिवासी जनजाति पत्रकार महासंघ) र धरान उपमहानगरपालिकामा अध्यक्ष जनकऋषि राईको नेतृत्वमा माक्स र सेनिटाइजर वितरण गरेको अध्यक्ष राईले बताए ।